मिर्गौलापीडित केशवतीको दुःखः न खानेबस्ने व्यवस्था, न उपचार खर्च

image आँखा समाचारदाता शुक्रबार​, चैत्र २३ २०८०
image

झापा, चैत २३ । श्रीमानले छोडेपनि झापा अर्जुनधारा ५ की केशवती राजवंशीले हरेश खाइनन् । आफू र आफ्नी छोरीको भविष्यका लागि संघर्ष गर्न उनी दुबई गइन् । तर, भाग्यले साथ दिएन । ३० वर्षकै उमेरमा केशवतीको दुबै मिर्गौला बिग्रिएपछि उनको सपना चकनाचुर भयो । अहिले उनीसंग न खानेबस्ने व्यवस्था छ न उपचार खर्च । माइतमा आश्रय लिइरहेकी केशवती अहिले ठूलो समस्याबाट गुज्रिरहेकी छन् ।

उनी तीन वर्ष अगाडि दुबई गएकी थिइन् । रेष्टुरेन्टमा काम पाएकी उनको कमाई राम्रै थियो । त्यही आम्दानीले उनले आफ्नो खर्चसंगै छोरीको पालनपोषण र पढाउने काम गर्दै आएकी थिइन् । तर, तीन महिनाअघि दुबईमै रहँदा उनलाई मिर्गौलाको समस्या देखियो ।

अहिले बिर्तामोडको मनमोहन अस्पतालमा उनले डाइलाइसिस गराइरहेकी छन् । विदेशबाट कमाएको करिव पाँच लाख उनले नोबेल , बीएण्डसी , मनमोहन अस्पतालमा खर्च गरिसकेकी छन् । थप र निरन्तर उपचारका लागि उनलाई समस्या भएको हो । ‘म बाँच्न चाहन्छु , मलाई सबैले सहयोग गरेर बचाइदिनु पर्यो ’ उनले अपिल गरेकी छन् । मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिरहेकी केशवतीले त्यसका लागि सहयोग गरिदिन अपिल गरेकी हुन् ।

केशवतीको दुःख देखेर अर्जुनधारा ५ का स्थानीयले केशवती राजवंशी बचाउ अभियान शुरु गरेका छन् । ताराप्रसाद बरालको संयोजकत्वमा २७ सदस्यीय समिति गठन गरी आर्थिक संकलन शुरु गरिएको हो । गठन भएकै दिन आर्थिक संकलन शुरु भइसकेको छ ।

गणेशबहादुर कार्की एकहजार , बुधकुमार राजवंशी एक हजार , झमान गिरी एक हजार , लीलाराज संजेल एक हजार , विनोदकुमार बस्नेत एक हजार , गोपालप्रसाद पोखरेल पाँच सय , लक्ष्मी न्यौपाने सरु पाँच सय र रामबहादुर कार्कीले पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।

समस्यामा परेकी केशवतीलाई बचाउन आफूहरुले संचालन गरेको अभियानलाई सहयोग गरिदिन संयोजक बरालले आग्रह गरेका छन् । उनले सहयोग गर्न चाहने मनकारी सहयोगीहरुलाई पीडित केशवती राजवंशीको नेपाल बैंक लिमिटेडको बिर्तामोड शाखामा रहेको खाता नं. ०८८१०८०७६४६५७७०००००१ मा सहयोग गरिदिन आग्रह गरेका हुन् । केशवतीको बारेमा थप बुझ्न परेमा ९८४२६९९८७४ र ९७०६११७९८७ मा फोन गर्न सकिने बरालले बताए ।