झापा गाउँपालिका समूह बिजेता बन्दै नकआउट चरणमा प्रवेश

image आँखा संम्वाददाता शुक्रबार​, मङ्सिर १५ २०८०
image

भद्रपुर, मंसिर १५ । झापा गाउँपालिका समूह बिजेता बन्दै भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

आजको खेलमा हारका बाबजुद झापा गाउँपालिका समूह ख को बिजेता बनेको हो । आज भएको समूह ख को पाँचौँ खेलमा छिमेकी नगरपालिका कनकाईसँग हार व्यहोरे पनि यसअघिको दुई जित र गोल अन्तरका आधारमा झापा गाउँपालिका समूह बिजेता बनेको हो ।

कनकाईले लिग चरणमा पहिलो जित दर्ता गरे पनि नकआउटमा प्रवेश गर्न सकेन । यसअघि कनकाई नगरपालिकाले दुई हार व्यहोरेको थियो ।

आजको खेलमा कनकाईले झापालाई १–० गोल अन्तरले हराएको हो । कनकाईका सन्दीप रसाइलीले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।

यसैबीच, आज भएको दोस्रो तथा समूह ख को लिग चरणको अन्तिम खेलमा गौरादह नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै गौरादह पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

गौरादहसँगको हारसँगै समूह ख मा रहेको भद्रपुर ब्लेजर्स भने लिग चरणबाटै बाहिरिएको छ । आजको खेलमा भद्रपुर ब्लेजर्समाथि जित्नैपर्ने दबाबमा रहेको गौरादहले आफू पछि परेको नतिजा उल्ट्याउँदै नकआउटमा नाम लेखाएको हो ।
खेलको पहिलो हाफमा भद्रपुर ब्लेजर्सले २–० को अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नतिजा गौरादहलाई सुम्पिनु परेको थियो । दोस्रो हाफमा खेलमा फर्किएको गौरादहले भद्रपुर ब्लेजर्सलाई निकै नै दबाबमा राखेको थियो ।
गौरादहले भद्रपुर ब्लेजर्सलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको २६ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका निकेश गुरुङ र ३१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले गोल गरेका थिए ।

तर, गौरादहका लागि ४५ औँ मिनेटमा पासाङ लामा तथा ६३ औँ र ६९ औँ मिनेटमा अमन ताजपुरियाले गोल फर्काएपछि भद्रपुर ब्लेजर्स लिग चरणबाटै बाहिरिएको हो । लिग चरणमा गौरादहले दुई खेल जित्यो भने एक खेल हार्यो ।
खेलको प्लेयर अफ द म्याच भएका गौरादहका अमन ताजपुरियाले नगद दुई हजार र ट्रफी पाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दिपेश ढकाल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, सौजन्यकर्ता सञ्जय पोखरेल र केशवकुमार मैनालीले प्रदान गरेका थिए ।

फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।