बिर्तामोड नगर अस्पतालमा डेलिभरी सेवा लिनेको संख्या बढ्दै

image आँखा संम्वाददाता मङ्गलबार, मङ्सिर १९ २०८०
image

बिर्तामोड,मंसिर १९ । बिर्तामोड नगर अस्पतालमा निःशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको छ ।

अस्पतालमा गत असार ३ गते आइतबारदेखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएको हो ।अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी (प्रसूती) सेवालाई समेत अघि बढाएको थियो ।

नगर अस्पतालमा प्रसूती हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गर्दै आएको छ । झोेलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई–दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक–एक थान उपलव्ध हुन्छ ।

नगर अस्पतालले प्रसूती सेवा लिनेहरुलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरी १८ सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिए ।

अस्पतालले स्त्री तथा प्रसूती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ, एमडीजिपी, मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट राखेर सेवा प्रवाह गर्दै आएको छ ।

अस्पतालमा हाल दैनिक २४ सै घण्टा निःशुल्क नर्मल डेलिभरी, स्वास्थ्य विमा सेवासंगै सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव, बच्चाहरुको नियमित खोप, रेबिज विरुद्धको खोपलगायतका सेवा उपलव्ध गराउँदै आएको छ । हाल दैनिक ३ सय जनाभन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएका छन् ।