हल्दिबारी ४ का वडाध्यक्ष मगरले सरकारी सवारीसाधन नलिने

image आँखा संवाददाता शुक्रबार​, भाद्र ३१ २०७९
image

झापा, भदौ ३१। हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा मगरले सरकारी सवारीसाधन नलिने घोषणा गरेका छन्।

सवारीसाधनको सुविधा नलिने निर्णयलाई बाहिर प्रचार गर्ने कुनै सोच नभए पनि सामाजिक सञ्जालमा केही व्यक्तिहरूले गलत अफवाह फैलाउने काम गरेकाले संचारमाध्यमबाट घोषणा गरेको उनले जानकारी दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित उनले हल्दिबारी गाउँपालिका वडा नं ५ को भवन निर्माणका लागि साढे चार कठ्ठा जग्गा जसको हालको मूल्य लगभग ६५ लाख पर्ने यसअघि उपलब्ध गराएका थिए ।

उनले भने ‘आफू निरन्तर जनताको काममा लागेकोले यस्ता कुराको प्रचार गर्ने कुनै ईच्छा नभएपनि बारम्बार सामाजिक सञ्जालमा प्रहार भएपछि बाध्य भएर बोल्नु परेको छ ।’

अघिल्लो पटक आफू पराजित हुँदा पनि सँधै जनताको साथमा रहेको र निर्वाचित भएर आएपछि अझै जिम्मेवारी बढेको बताउँदै उनले बालमैत्री स्थानीय तह बनाउन आफ्नो वडाले सबैभन्दा पहिला वडास्तरीय बालक्लब गठन गरिसकेको र त्यसलाई कार्यान्वयन गराउन आफ्नो सेवा सुविधाबापत आउने रकमबाट १० हजार बालबालिकाको क्षमता अभिवृद्धिको लागि बालक्लबलाई दिने पनि घोषणा गरेका छन्।

जलथल फुटबल क्लबका कोच भएर काम गरिसकेका मगर खेलकुद साथै सामाजिक कार्यमा सक्रिय युवाका रूपमा हल्दिबारीमा परिचित छन्।