काठमाडौँ। रिपब्लिकन पार्टीका उम्मेदवार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा आफू कानुनी प्रक्रियामा गइसकेको बताउँदै बाइडनलाई उक्त चेतावनी दिएका हुन् ।
नयाँ राष्ट्रपति छनोटका लागि भएको मतदानमा बाइडन जित नजिक पुगेका समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेका बेला ट्रम्पले आफ्नो आधिकारिक ट्वीटरमार्फत् बाइडनलाई चेतावनी दिएका हुन् । ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । कानुनी प्रक्रिया भर्खरै शुरु भएको छ’ ट्रम्पले ट्वीटरमा भनेका छन् ।
ट्रम्पले अझै पनि आफ्ना अग्रता आउने विश्वास कायमै राखेका छन् । ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्किने छ’ट्रम्पले भनेका छन् ।
अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । ट्रम्पले भने धाँधली भएको प्रमाण पेश गर्न सकेका छैनन् । बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सलभेनियामा बाइडनले ट्रम्पलाई पछि पारेका छन् । बाइडन १३ हजार मत अन्तरले ट्रम्पभन्दा अगाडि छन् ।