तेह्र प्रतिशतले बढ्यो पर्यटक आगमन

image आँखा समाचारदाता आइतबार​, बैशाख २३ २०८१
image

 सन् २०२४ को सुरुदेखि नेपालमा हवाईमार्गबाट भित्रिने विदेशी पर्यटकको आगमन दर उत्साहजनक रूपमा बढ्दै गएको छ । पर्यटकीय सिजन चलिरहँदा सबैभन्दा बढी पर्यटक भित्रिएको सन् २०१९ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिलमा दुई प्रतिशत र सन् २०२३ को तुलनामा झन्डै १३ प्रतिशतले पर्यटक आगमन बढेको छ ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार ३९९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सोही अवधिमा ९८ हजार ७७३ जना विदेशी नेपाल भित्रिएका थिए । अघिल्लो अप्रिलको तुलनामा यो वर्ष १३ प्रतिशतले विदेशी पर्यटक आगमन बढ्दै एक लाख ११ हजार ३७६ जना भित्रिएका छन् ।”

सन् २०२४ को चार महिनामा पर्यटक आगमन मासिक सरदर एक लाख नाघ्न थालेको उहाँले जानकारी दिनुभयो । कोरोना महामारीले प्रभाव पारेको वर्ष सन् २०२० को अप्रिलमा सबैभन्दा कम १४ जना मात्रै पर्यटक नेपाल आएका थिए । त्यस्तै गरी सन् २०२१ को अप्रिलमा २२ हजार ७३२ र सन् २०२२ को अप्रिलमा ६१ हजार ५८९ पर्यटक भित्रिएको बोर्डको तथ्याङ्कले देखाएको छ । 

बोर्डका अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो वर्षको अप्रिलमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन् । सो अवधिमा भारतबाट ३० हजार १५८, अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, बेलायतबाट पाँच हजार ३९१, अस्ट्रेलियाबाट चार हजार ११०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र मलेसियाबाट दुई हजार ३१० जना पर्यटक नेपाल आएका छन् ।पर्यटक आगमन दर अहिलेकै अवस्थामा वृद्धि हुँदै गए सन् २०२४ सबैभन्दा बढी पर्यटक भित्रिन सक्ने बोर्डले प्रक्षेपण गरेको छ । बोर्डका अनुसार सन् २०२४ मा १३ देखि १४ लाख पर्यटक भित्रिन सक्ने सम्भावना देखिन्छ ।