शहिद सुरजको १८ औं स्मृति दिवस मनाइयो

image आँखा समाचारदाता बिहीबार, बैशाख ६ २०८१
image

भद्रपुर । २०६२–०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही सेनाको गोली लागेर सहादत प्राप्त गरेका शहिद सुरज विश्वासको १८ औं स्मृति दिवस  मनाइएको छ । 

शहिद सुरज विश्वास स्मृति शालिक निर्माण समितिले भद्रपुर–६ स्थित शहिद स्मृति पार्कमा श्रद्धाञ्जली सभा आयोजना गरी मनाएको हो । सहिद सुरजको अर्ध कदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । 

शालिक निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बत्ताहरूले विभिन्न जनक्रान्तिमा देशका लागि बलिदान दिएका शहिद, बेपत्ता र घाइतेहरूको योगदानलाई राज्यले भुल्न नहुनेमा जोड दिए । दोस्रो जनआन्दोलनकै कारण राजतन्त्र ढालेर देशमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको उनीहरूले बताए । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका कोशी प्रदेश सदस्य तथा पूर्व प्रदेश सांसद वसन्त बानिया, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, एमालेका जिल्ला सदस्य कालिचरण बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा शहिद माता मिना विश्वासलाई सम्मान समेत गरिएको थियो । स्वागत मन्तव्य सन्ध्या हाडाले राखेकी कार्यक्रमको सञ्चालन वडा सदस्य प्रकाश शर्माले गरेका थिए ।

त्यस्तै चन्द्रगढी विमानस्थलमा सङ्गठित यातायात व्यवसायीको चन्दगढ यातायात प्रालिले सहिद सुरज विश्वासको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

आजकै दिन पूर्व राजा ज्ञानेन्द्र शाहको शासन विरुद्ध दोस्रो जनआन्दोलन भएको थियो । झापाको सदरमुकाम भद्रपुर घेराउ गर्दै हजारौँ प्रदर्शनकारी उत्रिएका थिए । सोही क्रममा तत्कालीन राजा ज्ञानेन्द्रको आदेशमा शाही सेनाले प्रदर्शनकारीमाथि गोली बर्साएका थिए । सेनाको गोली लागेर झापाका सुरज विश्वास र राजन गिरीको निधन भएको थियो ।  सेना र प्रहरीको दमनमा परी सयौँ झापाली घाइते समेत भएका थिए ।