चेम्बर अध्यक्ष अग्रवालले गरे झापा शाखाको अवलोकन

image आँखा संम्वाददाता शनिबार, बैशाख १ २०८१
image

झापा, बैशाख १ । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवालले चेम्बर अफ कमर्स झापाको अवलोकन भ्रमण गरेका छन् ।

यही सोमबार काठमाडौंमा सम्पन्न चेम्बरको ७३ औं केन्द्रीय महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित अग्रवालले भ्रमणको पहिलो शाखा झापालाई छानेका हुन् ।

देशमा संघीय संरचना निर्माण भएसँगै देशव्यापी रुपमा शाखा विस्तार गरेको चेम्बर अफ कमर्सले शाखाहरुलाई सशक्त बनाउने उद्देश्यअनुरुप आफूले जिल्लाहरुको अवस्था बुझ्न शाखाहरुको अवलोकन–भ्रमणलाई प्राथमिकतामा राखेको अध्यक्ष अग्रवालले बताए ।

शुक्रबार बिर्तामोडस्थित चेम्बरको सचिवालयमा झापा अध्यक्ष तथा केन्द्रीय सदस्य ओमकृष्ण विमली, चेम्बरका कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, झापा सचिव विरोध सुवेदी, सदस्य शत्र्घनप्रसाद गुप्ता, महिला उद्यमी पार्वता विमली खरेल, महिला उद्यमी तथा सञ्चारकर्मी भीमा शिवाकोटीलगायतले केन्द्रीय अध्यक्ष अग्रवाललाई स्वागत गरेका थिए ।

सचिवालयको अवलोकनपछि भएको संक्षिप्त छलफलमा अध्यक्ष अग्रवालले चेम्बर अफ कमर्स देशकै पहिलो व्यावसायिक संगठन भएको जनाउँदै यो संगठनको गरिमा र मर्यादा निकै माथि रहेको बताए । उनले काठमाडौंमा केन्द्रित रहेको चेम्बर अफ कमर्सले मुलुक संघीयतामा गएपछि यसको पनि संघीय संरचना तयार गरेको उल्लेख गर्दै आफ्नो पहिलो लक्ष्य जिल्ला शाखाहरुलाई सबल र सक्षम बनाउनु रहेको बताए ।

झापा अध्यक्ष विमलीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा चेम्बरले जिल्लाहरुमा उद्यमशीलता विकास, स्वदेशी उत्पादनको बजारीकरण, आत्मनिर्भरताका कार्यक्रमहरु लैजाने पनि उल्लेख गरे ।
लामो समयदेखि नेपाली अर्थतन्त्रलाई नजिकबाट बुझेका विज्ञ अग्रवालले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताए । यद्यपि, अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएकोले निकट भविष्यमै अर्थतन्त्रले लय समात्ने उनले विश्वास व्यक्त गरे ।

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकसमेत रहेका अग्रवालले अहिले विदेशबाट आउने रेमिटेन्सले नेपाली अर्थतन्त्र धानेको बताउँदै तर यो दिगो नभएको पनि उल्लेख गरे । उनले आयातलाई नियन्त्रण गर्दै राजश्वका दरहरुमा गरेको बृद्धिले बजार चलायमान हुन नसकेको बताउँदै यसले राजश्व संकलन नै प्रभावित भएको बताए । ‘जुन–जुन वस्तुको आयातमा संकुचन गरिएको छ, जुन वस्तुको भन्सार दर बढाइएको छ, ती वस्तुको नेपाली बजारमा अभाव त देखिँदैन तर भन्सारमा राजश्व भने कम संकलन भइरहेको छ’, उनले भने– ‘यसको अर्थ चोरी पैठारीको माध्यमबाट सामानहरु आइरहेको छ, भन्सार दर कम गर्ने हो भने, आयातलाई खुकुलो बनाउने हो भने तिनै सामान वैधानिक बाटोबाट आउनेछन् र राजश्वमा बृद्धि हुनेछ ।’

अध्यक्ष अग्रवालले आर्थिक वर्ष ०८१÷०८२ को बजेट उद्योग तथा व्यवसायमैत्री आउनुपर्नेमा जोड दिए । उनले क्षणिक लोकप्रियता कमाउनेभन्दा पनि देशको अर्थतन्त्रको वर्तमान वस्तुगत अवस्थालाई बुझेर यथार्थपरक बजेट आउनुपर्ने र पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।

अध्यक्ष अग्रवालले चेम्बरको झापा शाखाले गरिरहेका क्रियाकलापहरुको प्रशंसा गर्दै उद्यमशीलताका लागि झापाले गर्ने कार्यक्रमहरुलाई केन्द्रको सहयोग रहने आश्वासन दिएका छन् ।
चेम्बरको केन्द्रीय महाधिवेशनको अवसरमा झापा शाखा सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित भएको थियो ।