नेपालबाट भारत लाइटर तस्करी

image आँखा संम्वाददाता शनिबार, चैत्र २४ २०८०
image

मेचीनगर। पछिल्लो समय नेपालबाट अबैधरुपमा भारततर्फ चाइनिज लाइटरको कारोवार बढेसँगै नेपाल प्रहरीले नाकामा निगरानी भएको छ ।

केहि दिनअघिमात्र पश्चिम बंगाल प्रहरीले दार्जिलिङ जिल्लाको सिलिगुडीको खालपाडा इलाकाको एउटा गोदामबाट ४० कार्टुन चाइनिज लाइटर भण्डारण गरेको अवस्थामा बरामद गरेको थियो ।

विशेष अप्रेसन ग्रुप र सिलिगुडी प्रहरीले गोप्य सूचनाका आधारमा भारीमात्रामा बरामद गरेको लाइटरको घटनाको प्रारम्भिक अनुसन्धानबाट मेचीनगरबाट चोर बाटो भएर भारत पुगेको समाचार बाहिर आएको थियो । एक लाख २० हजार पिस लाइटरको अनुमानित भारतीय बजार मूल्य लगभग १२ लाख रुपैयाँ तोकिएको र लाइटर काँकरभिट्टा नाकाबाट अवैध रुपमा भित्र्याई सिलिगुडी पु-याएको भारतीय प्रहरीले दाबी गरेको थियो ।

त्यसपछि नेपालतर्फ प्रहरीले कडा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसअघिको घटना सेलाउन नपाउँदै शुक्रबार साँझ ६ बजे मेचीनगर —७ को गैरीगाउँबाट नेपाल प्रहरीले करीब ४० हजार रुपैयाँ मूल्य बराबरको चार कार्टुन लाइटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार नेपालबाट भारततर्फ अबैधरुपमा भन्सार छली लैजादैं गर्दा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी हवल्दार तेजबहादुर चौलागाईँको नेतृत्वमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । बरामद लाइटर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रहरीले बताएको छ ।