खनाल र लम्जेललाई तेराख साहित्य पुरस्कार

image आँखा संम्वाददाता शनिबार, बैशाख १५ २०८१
image

लक्ष्मी उप्रेती,मेचीनगर । यस वर्षको तेराख महाकवि देवकोटा साहित्य पुरस्कार भारत आसाम मटियावरीका कलाश्री विनोद खनाल र इलाम नगरपालिका –६ का रविमान लम्जेललाई प्रदान गरिएको छ ।

शनिबार धुलावारीमा साहित्यकार तेराख प्रतिष्ठान मेचीनगरले आफ्नो वार्षिकोत्सवको अवसर पारेर कलाकार तथा साहित्यकार खनाल र साहित्यकार तथा अनुसन्धानकर्ता प्राज्ञ लम्जेललाई जनही नगद ४५ हजार र सम्मानपत्रसहितको तेराख महाकवि देवकोटा साहित्य पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठान दिवंगत साहित्यकार तेजराज खतिवडा (तेराख) को स्मृतिमा स्थापना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार केशव आचार्यलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।सम्मानित व्यक्तित्व कलाश्री विनोद खनालको जीवनीमाथि प्रतिष्ठानकी सदस्य लीना भण्डारी र अर्का व्यक्तित्व रविमान लम्जेलको जीवनीमाथि प्रतिष्ठानका सदस्य तथा लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति कृष्ण सुवेदी ‘निराकार’ ले प्रकाश पारेका थिए । पुरस्कार ग्रहणपछि प्राज्ञ लम्जेलले आफूले प्राप्त गरेको पुरस्कार राशि कृति प्रकाशनमा खर्च गर्ने बताए । यसैगरी, मेचीपारीका अर्का सम्मानित व्यक्तित्व खनालले नेपालमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको महत्वपूर्ण स्थान रहेको र सीमापारी रहेर यसको विकासमा आफू निरन्तर लागिरहेको बताए ।

उनले सीमापारी बसेर नेपाली लोक संस्कृति संगिनी गीतमा दश हजार महिलालाई शीरमा गाग्रो राखेर नृत्य गराउन लागेको र यस नृत्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्ने तयारीमा रहेको जानकारी दिए । उनले आफ्ना गीत र मुक्तक प्रस्तुत गरेका थिए ।

यसैगरी, नगद २१ हजार रुपैयाँसहितको मधुसुदन उत्कृष्ट कृषक पुरस्कार मेचीनगर नगरपालिका –९ निवासी कृषक खड्गबहादुर अधिकारी र १५ हजार रुपैयाँको पद्मादेवी उत्कृष्ट छात्रा पुरस्कार धुलावारी नमुना माविबाट कक्षा १२ को परीक्षामा ३ दशमलव ७४ जिपिए प्राप्त गरी उत्तीर्ण हुने छात्रा पवित्रा न्यौपानेलाई प्रदान गरियो । प्रतिष्ठानले हरेक वर्ष यी दुई पुरस्कार पनि प्रदान गर्दै आएको छ । यी दुवैको सम्मानपत्र मुना राणाले वाचन गरेकी थिइन् ।

धुलावारी माविको सभाहलमा प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार केशव आचार्य, विशेष अतिथि प्राज्ञ सुभद्रा भट्टराई, प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडालगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा ‘आँखैमा राख्छु मेरो देश, मुटुमा राख्छु मेरो देश’ बोलको गीतमा नृत्य गरेर आस्था खतिवडा र पूर्णिमा सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले तेराख प्रतिष्ठानको संक्षिप्त परिचय दिएका थिए भने कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा दार्जिलिङका कलाकार अनिल प्रधानले आफ्नै शब्द संगीतमा रहेको ‘आउनुहोस् है साथी नेपाल घुम्न जाउँ’ बोलको गीत प्रस्तुत गरेका थिए भने नाटककार टंक काफ्लेले नाटकको अभिनय गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथि भट्टराई , सञ्चारकर्मी चन्द्र भण्डारीलगायतले बोलेका थिए ।

प्रतिष्ठानकी उपाध्यक्ष दुर्गा खतिवडाले स्वागत गरेको कार्यक्रमलाई सचिव जय भण्डारी र सहसचिव मुना रानाले संयुक्तरुपमा सञ्चालन गरेका थिए ।सोही अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको २०८१ सालको क्यालेण्डर विमोचन गरिएको थियो ।