चेप्टी घुम्न गएका शिवसताक्षीका ढकालको माईखोलामा डुवेर मृत्यु

image आँखा संम्वाददाता शुक्रबार​, चैत्र १६ २०८०
image

झापा, चैत १६ । इलामको माई नगरपालिका–२ चेप्टीस्थित माईखोलामा डुबेर एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर–४ लालपानीका २१ बर्षीय मुकेश ढकाल रहेको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक कैलाशकुमार केसीले जानकारी दिए ।

झापाबाट तीनवटा मोटरसाइकलमा हेप्पी ड्रिम्स चेप्टी घुम्न गएका ढकालसहित उनका सानिमा, मामा र फुपूका छोराहरु चेप्टीनजिकै रहेको माईखोलामा पौडी खेल्न गएका थिए। साथीहरुसंग छुटेर पौडी खेल्न गएका ढकाललाई अपरान्ह १२ बजे माईखोलाको दहमा मृत अवस्थामा फेला पारिएको थियो। ढकाल भारतमा पढ्दै आएका थिए । उनी केही दिनअघि झापा घर आएका थिए। मृतक ढकालका बुवा भारत र आमा दुवईमा रोजगारीमा रहेका छन् ।

ढकालको शवलाई प्रहरी र स्थानीयवासीको सहयोगमा दहबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।