कन्काई माई मेलामा ठगी धन्दा

image आँखा संम्वाददाता सोमबार, माघ १ २०८०
image

विनोद सापकोटा, झापा, माघ १ । झापाको कन्काई मेलामा मेला ठेक्का लिनेहरुले पार्किङ र भिटौरी करको नाममा ठगी गरेका छन् ।

सम्बन्धित पालिकाहरु कन्काई र शिवसताक्षी नगरपालिकाले कन्काई माई मेलाका लागि तोकेको दररेटभन्दा मेला संचालकहरुले दोब्बर तेब्बरबढी रकम असुलेका हुन् । कन्काई नगरपालिकाले कन्काई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क रु २० , मोटरसाइकल पार्किङ शुल्क रु ५०, कार, जिप, भेन साना सवारीसाधन पार्किङ शुल्क रु १०० र ठूला सवारी बस , ट्रकसमेतका लागि पार्किङ शुल्क रु २०० दररेट कायम गरेर मेला संचालकलाई संचालनको अनुमति दिएको थियो । तर, मेला संचालकले नगरपालिकाले तोकेको दररेटभन्दा दोब्बर र तेब्बरबढी रकम असुलेका छन् ।नगरपालिकाले स्कुटर र मोटरसाइकलको लागि ५० रुपैयाँ पार्किङ शुल्क तोकेकोमा मेला संचालकले १०० रुपैयाँ असुलेका छन् भने कार, जिप, भेन , छोटाहात्तीका लागि १०० रुपैयाँ तोकिएकोमा त्यसको तेब्बर ३०० रुपैयाँ शुल्क उठाएका छन् ।

ठेकेदारले असुलेको पार्किङ शुल्क

कन्काई नगरपालिकाले तोकेको पार्किङ शुल्क

त्यस्तै कन्काई नगरपालिकाले भिटौरी करतर्फ प्रति स्क्वायर फुट (स्पेशल) रु २५ , भिटौरी प्रति स्क्वायर फुट (न्यूनतम) रु २० र सबैभन्दा साना पसलका लागि न्यूनतम रु ५०० तोकेको थियो । तर, मेला संचालकले दररेटभन्दा निकै बढी आफूखुशी भिटौरी कर लिएको व्यवसायीहरुले बताएका छन् । तीर्थयात्रीले भन्दा पनि यो वर्ष माईमेलामा व्यापार गर्नेले अधिक गुनासो गरेका हुन् । सवारी पार्किङ शुल्क, स्टलको लागि भिटा, विद्युत, आवश्यक वस्तुको शुल्क अत्यधिक असुल गरिएको उनीहरुले गुनासो गरेका हुन् । कनकाईको पश्चिम तटीय क्षेत्रमा लागेको मेला शिवसताक्षी नगरले ठेक्का दिएर आयोजना भएको हो भने कोटीहोम क्षेत्रमा कनकाई नगरपालिकाले ठेक्का लगाएर आयोजना भएको हो ।

कन्काई नगरपालिकाले तोकेको भिटौरी कर

व्यवसायीहरुले एक फुट भिटाको १ हजार रुपैयाँसम्म ठेकेदारले रकम असुल गरेको गुनासो गरेका छन् । ‘हाम्रो व्यापार एक दिन हुन्छ । उहाँहरुले पाँच दिनका लागि भन्दै जवरजस्त शुल्क उठाउनु हुन्छ,’ शिवसताक्षीका व्यवसायी हिक्मत लामाले भने ‘यस्तै हो भने अर्को वर्षदेखि ऐतिहासिक धार्मिक माघे संक्रान्तिको मकर मेला निमिट्यान्न हुन बेर हुन्न ।’
कन्काई नदीमा वर्षेनि लाग्दै आएको माईमेला यस वर्ष पनि उल्लासका साथ लागेको थियो । प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला हेर्न कन्काई माई किनारमा हजारौ भक्तजनको घुँइचो लागेको थियो ।माईमेलामा नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन् । यो बर्ष अन्य बर्षभन्दा बढी भिडभाड रहेको कोटीहोम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले जाकारी दिए ।

विगतका वर्षभन्दा यो वर्ष मेला व्यवस्थित भएको तीर्थयात्रीले बताएका छन् । कनकाई पुलमा तीर्थयात्रीको पैदलयात्रालाई प्रहरीले रोकेपछि विगत वर्षको जस्तो जाम थिएन । पुलको दुवै मुखमा प्रहरीको तैनाथीले एक मिनेट पनि जाम भएन । माई मेलाको सुरक्षाका लागि करिव २ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । मेलाको सुरक्षाका लागि सशस्त्र प्रहरी ,नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालित थिए ।

माईमेलामा यो वर्ष करिव १ लाख तीर्थयात्री आएको अनुमान गरिएको छ । मकर स्थानका लागि कतिपय तीर्थयात्रीहरु अघिल्लै दिन मेला परिसरमा आएर भजन कीर्तनका साथ जाग्राम बसेका थिए । विहान स्नान गरेर पूजा पाठ गरेको स्थानीयले बताए । स्थानीयका अनुसार करिव ४ सयको हाराहारीमा भक्तालुहरु अघिल्लो दिन मेला परिसरमा आएर भजन कीर्तनसहित जाग्राम बसेका थिए ।

कोशी प्रदेशको चर्चित र ठूलो माई मेलामा भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरु आउने गर्दछन् । मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ ।
त्यसैले कन्काई नदीमा नुहाएर पूजाअर्चना गरे आफूले चिताएको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।