स्वास्थ्य कार्यालय झापा प्रदेशभरिमै उत्कृष्ट

image आँखा समाचारदाता शुक्रबार​, कात्तिक २४ २०८०
image

झापा, कात्तिक २४ । स्वास्थ्य कार्यालय झापा प्रदेशभरिमै उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०७९–८० मा स्वास्थ्य कार्यालय झापाबाट सम्पादन गरिएको स्वास्थ्य कार्यक्रमहरुको मूल्यांकन गरी स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले प्रथम पुरस्कार प्रदान गरेको हो ।

कात्तिक २१ देखि २३ गतेसम्म विराटनगरमा प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी आयोजना गरिएको थियो । सो गोष्ठीका अवसरमा १४ वटा जिल्लामध्ये प्रदेशमै उत्कृष्ट भएको स्वास्थ्य कार्यालय झापालाई कदरपत्र प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका निर्देशक ज्ञानबहादुर बस्नेतले स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीलाई कदरपत्र र मायाको चिनो प्रदान गरेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

उनले कार्यसम्पादन र सूचकांकको आधारमा स्वास्थ्य कार्यालय झापा प्रथम भएको बताउँदै जिल्लाका स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय तहका स्वास्थ्य शाखाहरुको प्रयासका कारण यो उपलब्धि हासिल गरिएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य कार्यालय झापा प्रदेशभरिमा पाँचौ स्थानमा रहेको थियो ।