स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन

image आँखा संवाददाता शुक्रबार​, भाद्र ४ २०७८
image

चन्द्रगढी, भदौ ४ । स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् ।संघको प्रथम जिल्लाअधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।त्यस्तै समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका छन् ।

त्यस्तै सदस्यहरु तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी चयन भएका छन् । अन्य सदस्यहरु समितिको आगामी बैठकले टुङ्गो लगाउने निर्णय भएको छ । संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरुलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णयसमेत भएको छ ।

दलीय स्वार्थका कारण मुलुक गंभीर संकटमा पर्ने खतरा बढेको भन्दै पत्रकारिता समेत स्वतन्त्र र निष्पक्ष बन्न नसक्दा नागरिकहरु सही सूचना पाउनबाट बञ्चित हुनुपरेको निश्कर्ष निकालिएको छ । नव निर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशील संघसंगठनले अझै पनि स्वतन्त्र पत्रकारको अस्तित्वलाई स्वीकार गर्न आनाकानी गरेको भन्दै स्वतन्त्र पत्रकारहरुलाई पनि सम्मानजनक रुपमा ब्यवहार गर्न आग्रह गरे ।

दलीय संगठनको आधारमा गठन भएका संगठनहरुले स्वतन्त्र पत्रकारिता गर्न नसक्ने भएकाले आस्था र विचारलाई थाँती राख्दै पत्रकारिता स्वतन्त्र रुपमा गरिनु पर्नेमा जोड दिइएको छ । साथै पत्रकार महासंघको हरेक गतिविधिमा स्वतन्त्र पत्रकारहरुलाई समेत समावेश गर्न माग गरिएको छ ।

समाचार लेखेकै आधारमा कसैले असुरक्षाको अनुभूति गर्न नपरोस् भन्दै जिम्मेवार पत्रकारिता गर्नु आजको आवश्यकता भएकोमा स्वतन्त्र पत्रकारहरुले जोड दिएका छन् । कोरोना भाइरसको संक्रमण झापामा बढ्दै गएका बेला प्रविधिको प्रयोग गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।

साथै अधिवेशनले संस्थापक अध्यक्ष बस्नेतलाई प्रदेश समितिमा सिफारिस गरेको छ । केन्द्रीय महाधिवेशन आगामी १९ र २० गते नवलपुरमा गरिने भएकाले जिल्ला अधिवेशनहरु धमाधम भइरहेका छन् । २५ जिल्लामा संगठन विस्तार भइसकेको र आगामी दिनमा थप जिल्लाहरुमा संगठन विस्तारलाई तिब्रता दिइने जनाइएको छ ।