झापामा विस्तार हुँदै कृषिमा ठूला यन्त्र

image मङ्गलबार, आषाढ ३० २०७७
image

दमक, असार ३० गते । झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामार्फत धान र गहुँ काट्न प्रयोग गरिने पाँचवटा आधुनिक मेसिन कम्बाइन्ड हार्भेस्टर भित्रिएका छन् । यस वर्षदेखि झापामा धान सुपरजोन क्षेत्र विस्तार भएपछि अनुदान नभएर भौतिक सहयोगमा जोड दिएको पाइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्र बस्नेतका अनुसार आपूmहरूले एउटा हार्भेस्टरका लागि २० लाख रुपियाँ अनुदान उपलब्ध गराएको, बाँकी रकम जति लागे पनि स्वयं कृषि सहकारी तथा समूहले नै बेहोरेका छन् । पाँचवटा हार्भेस्टरमा हामीले एक करोड रुपियाँ अनुदान रकम उपलब्ध गराएका छौँ र बाँकी स्वयं सहकारी तथा समूहले नै व्यवस्थापन गरेका छन्, बस्नेतले भन्नुभयो ।
यो मेसिनले धान तथा गहुँ खेतमै दानालाई बोरामा प्याक गर्न सकिने गरी सफा पार्छ । यो मेसिनले एक घण्टामा एक बिघा खेतको गहुँ काट्न र झार्न सक्छ । यो मेसिन प्रयोग नहुँदा २५ जनाभन्दा बढी मजदुर लाग्ने बताइन्छ । साना किसान सहकारी
संस्था महारानीझोडाकी अध्यक्ष मीना ढकालका अनुसार यसले उत्पादन लागत धेरै नै घटाउँछ ।
परियोजनामार्फत यही आर्थिक वर्षमा अधिकांश नगरपालिका तथा गाउँपालिकामा कस्टम हायरिङ सेन्टर पनि बनेका छन् । ५० प्रतिशत लागत सहभागितमा कृषि उपकरण उपलब्ध गराउने र उक्त उपकरण राख्नका लागि ‘कस्टम हायरिङ सेन्टर’ निर्माण गरिएको जनाइएको छ ।
‘कस्टम हायरिङ सेन्टर’ भन्नाले उत्पादनका लागि चाहिने आवश्यक कृषि औजारदेखि भण्डारण तथा उत्पादन बजारसम्म पु-याउने सेवा प्रदान गर्नका लागि आवश्यक प्रबन्ध मिलाउने थलो भएको जनाइएको छ । किसानले कृषि उपकरण प्रयोग गर्न धेरैतिर कुद्नु नपरोस् र एकै ठाउँमा पाइयोस् भनेर यो निर्माण गरिएको हो, बस्नेतले भन्नुभयो ।
यहाँ रहेका उपकरण किसानले सहुलियत रूपमा पाउने छन् र धान सुपरजोन क्षेत्र घोषणा गरिएको ठाउँमा आधुनिक प्रविधिमार्फत कृषि कर्म गर्न सहयोग पुग्ने विश्वास लिइएको पनि बस्नेतको भनाइ छ । झापाका १५ वटा स्थानीय तहमध्ये ११ वटामा यो निर्माण भएको र तीनवटाबाट कुनै पनि प्रस्ताव नआएको बताइन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन सञ्चालक समिति अध्यक्ष विश्व बरालका अनुसार जिल्लाका १४ वटा स्थानीय तहमा कम्तीमा २८ सय बिघा जमिनमा धान सुरपरजोन कार्यक्रम विस्तार भएको छ । यसअघि कचनकवलको बनियानीमा मात्र धान सुपरजोन क्षेत्र सीमित थियो ।