भद्रपुर, फागुन २८ / मैथिल समाज झापाले होलीको पूर्वसन्ध्यामा होली मिलन समारोह आयोजना गरेको छ ।समाजले भद्रपुर–६ स्थित आफ्नै नबनिर्मित भवनमा मंगलबार साँझ होली मिलन समारोह आयोजना गरेको हो ।समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए ।
समाजका सचिव सुशील कर्णले सञ्चालन र निवर्तमान अध्यक्ष बलदेव शाहले स्वागत गरेको समारोहमा शुभकामना व्यक्त गर्दै नगरप्रमुख पोखरेलले होली पर्व सभ्य ढंगबाट मनाउन नगरवासीलाई आग्रह गरे ।समारोहमा पूर्व नगरप्रमुख एवम् मैथिल समाजका अगुवा भारतेन्द्कुमार मल्लिक, भद्रपुर नगरपालिका वडा नं ६ का अध्यक्ष रतिया राजवंशी, वडा नं. ५ का वडा सदस्य जेष्ठमल ठाकुर, डा. पिताम्बर ठाकुरलगायतले शुभकामना मन्तव्य राखेका थिए भने ६ नं. का वडा सदस्य प्रकाश शर्मा, यदुनन्दन साह रौनियार, रेखा साफीलगायतको सहभागिता थियो ।
सोही अवसरमा समाजले मैथिल समुदायबाट गत वर्ष एसईई परीक्षामा सवोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने अनुज कर्ण र सृष्टी शाहलाई सम्मान गरेको थियो ।