काँकरभिट्टा, २५ माघ । मेची उद्योग बाणिज्य संघको आयोजनामा यही माघ २१ गतेदेखि जारी व्यवसायीको नाप तौलको परीक्षण आजबाट समापन भएको छ ।मेची उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा गत सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौल्ने उपकरणको परीक्षण, जाँच, नवीकरण, अनुमतिपत्र वितरण र अनुगमन कार्य शुक्रबार समापन भएको हो ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले मेचीनगरका १०९ जना व्यवसायीले सदस्यता नविकरण गरेको जानकारी दिए ।त्यस्तै १८९ जना व्यवसायीहरुले काँटा, ढक, लिटर, मिटर जाँच गरेर नवीकरण, नयाँ दर्ता र अनुमतिपत्र लिएको उनले बताए ।गतवर्ष भन्दा १७ प्रतिशत बढी व्यवसायीहरुले नाप तौलको परीक्षण र सदस्यता नवीकरण गरेको उनको भनाई छ ।गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरबाट खटिएको डोर टोलीमा कार्यालयका सहायक निरीक्षक अमितकुमार कर्ण, सीमीद्वय विजयनन्द चौधरी र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे तथा संघका कार्यसमिति र कर्मचारीहरु डोर टोलीमा खटिएका थिए ।
यही माघ २१ गतेदेखि सञ्चालन भएको नाप तौलको परीक्षणको पहिलो दिन मेचीनगर–६, काँकरभिट्टा स्थित होटल दुवईल्याण्ड परिसरमा आयोजना गरिएको थियो ।दोस्रो दिन मेचीनगर–७, ईटाभट्टा स्थित उत्तम किराना पसल छेउमा, तेस्रो दिन संघको सचिवालय धुलाबारी, चौँथो दिन धाइजन मोड स्थित अधिकारी एग्रो भेट्स छेउ र पाँचौँ दिन आज चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स छेउमा व्यवसायीहरुको नाप तौलको परीक्षण गरिएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।