झापा, माघ २१ । गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ ।
अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरेको हो । योसँगै गत माघ १२ गतेदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनका लागि वार्ता प्रक्रिया सुरु हुने भएको छ ।
केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले यो समितिबाट वार्ताका लागि समन्वयको वातावरण बन्ने बताउनुभयो । उहाले भन्नुभयो, ‘संघीय सरकारकै तर्फबाट मात्रै कुरा गर्छौं भन्ने हाम्रो अडान थियो, त्यो सकारात्मक छ । तर सहसचिवको तहबाट निर्णय भएर कार्यान्वयन हुन सक्दैन । त्यसैले हामीले पोलिटिकल लेभलको वार्ता समिति बन्नुपर्छ पनि भनेका छौं । त्यो विषयमा छलफल गर्न सहजीकरण समिति बनाइएको हो ।’
समूहले वार्तामा बस्नुअघि निर्माण कार्य स्थगित हुनुपर्ने, पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनालाई रिहा गर्नुपर्ने, निर्माणाधीन क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने अडान लिएका छन् ।
यसै गरी ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकारको विरोधमा आन्दोलित बन्दकर्ताहरुले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।
झापामा एउटा र इलाममा दुईवटा सवारी साधनमा उनीहरुले तोडफोड गरेका हुन् । दिउँसो करिब २ः३० बजे झापाको कमल।–४ सितापुरीस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको मितेरी यातायातको बसलाई दुईवटा मोटरसाइकलमा आएका ३÷४ जना बन्दकर्ताहरुले ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा प्रहारबाट बसको अगाडिको सिसामा एउटा प्वाल परेको छ ।
उता दिउँसो ३।२५ बजे इलाम माङसेबुङ गाउँपालिका ३ दोभानस्थित भित्री सडकखण्डमा पाँचथरको रविबाट भित्री बाटो टोड्के– कुसुन्डे हुँदै झापातर्फ आउँदै गरेको बोलेरो गाडीलाई अन्दाजी १०–१२ जनाको संख्यामा मोटरसाइकलमा आएका बन्दकर्ताहरुले रोकेर दुवै गाडीको सबै सिसा फुटाएका छन् ।