झापा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको गलत नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा पर्दै गएको बताएका छन् ।
आज आइतबार निर्माण व्यवसायी संघ झापाको विर्तामोडमा सम्पन्न १६ औं साधारणसभा एवम् अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायीहरूले निर्माण कार्य गरेबापत विगतका आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने ठूलो रकम अझै नपाउँदा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको बताए ।
त्यस्तै महासंघकासल्लाहकार निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष मोहनप्रसाद अधिकारी, उशोसिएट उपाध्यक्ष रामजी पन्त, महासचिव रोशन दाहाल, निर्माण व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारी, निर्माण व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष गणेश वस्नेत, संघका मोरङ अध्यक्ष महेश मिश्र लगायतले सरकारले मूल्य समायोजन नगर्दा अहिले निर्माण व्यवसायीहरुले काम गर्नसक्ने अवस्था नभएको बताएका थिए ।
संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा स्वागत संघका प्रथम उपाध्यक्ष रमेश अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए ।
सो ही समारोहका बीच संघले झापाका अग्रज निर्माण व्यवसायी प्रभाखर कडरिया, यज्ञराज ओली र अर्जुन संग्रौलालाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि सिंहले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
यसैबीच, संघको नयाँ नेतृत्वका लागि सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले जानकारी दिएका छन् । यसपटक चारसय बढी व्यवसायी अधिवेशनमा सहभागी भएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।