बिर्तामोड औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरूको उपस्थिति बढ्दै

image आँखा समाचारदाता २ महिना अगाडी
image

झापा । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरूको उपस्थिति बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरूको खरिद र अवलोकनका लागि जानेहरूको भीड बढेको हो ।

महोत्सव स्थलमा ग्राहकको उपस्थिति बढेसंगै व्यवसायीहरू उत्साहित देखिएका छन् । किचन सामग्री र स्वरोजगार मूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ । शनिवार बिदाको सदुपयोग गर्दै बालबालिका समेतको उपस्थितिमा ग्राहकहरू महोत्सव स्थल पुगेको देखिन्थे ।

मेलामा रौनक थप्न पोखराका नन्दनी साह चटपट र भेलपुरी लिएर बिर्तामोड आएका छन् । यस अघि उनले धरान एक्सोमा पनि चटपट र भेलपुरीको स्वाद चखाएका थिए । धनकुटा हिलेबाट ल्याइएको घरेलु ठेकी र तोङ्वा सहितका घरायसी प्रयोजनका सामग्री बिर्तामोड महोत्सवको आकर्षण बनेको छ ।

मौसममा आएको सुधारसँगै ग्राहकको उपस्थिति बाक्लिएपछि महोत्सवमा खरिद बिक्री बढेर गएको व्यवसायी थीरमाया राउतले  बताइन् । महोत्सव स्थलको किड्स जोनमा पनि बालबालिकाहरू खेल सामग्री प्रयोग गर्दै रमाई रहेका देखिन्छन् ।

ad

महोत्सवलाई थप आकर्षण दिन यस पटक मुख्य प्रवेशद्वार विशेष प्रकारले डिजाइन गरिएको छ । मुख्य मञ्च अगाडि झापाकै प्रसिद्ध तीर्थस्थल अर्जुनधारा जलेश्वर धामको चित्र झल्कने मन्दिरको आकृति राखिएको छ । सेल्फी लिने र टिकटक बनाउने केन्द्रका रुपमा ती डिजाइनले साथ दिएको छन् ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर विभिन्न जातिका सांस्कृतिक प्रस्तुतिहरू नियमित रहेका छन् । शनिवार राई जातिका कलाकारहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए । जातीय भेसभुसामा सजिएर आएका उनीहरूले दिनभर मौलिक संस्कृतिको जर्गेनाका लागि छलफल सहित प्रस्तुति प्रदर्शन गरेका थिए ।

प्रत्येक साँझ प्रसिद्ध कलाकारहरूले बेजोड साङ्गीतिक प्रस्तुति राखिरहेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । साँझ सङ्गीतमा रमाउनेको पनि उल्लेख्य उपस्थिति रहँदै आएको छ /

ad

ad