झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो नहुने बताएका छन् ।
आफ्नै गृहनगर दमकमा निर्मित १८ तले भ्यु टावरको उद्घाटनपछि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै भने, ‘देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, सहकारी ठगेजस्तो सजिलो कहाँ छ र !’ प्रधानमन्त्री ओलीले दमक व्यापारिक कम्प्लेक्स नयाँ किसिमको विकास मोडेल भएको पनि जिकिर गरे । सय मिटर अग्लो र १८ तले कम्प्लेक्सबाट रोजगारीसँगै पर्यटन विकासको सम्भावनाको ढोका खुलेको उनको दाबी थियो ।
आइतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् । उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए ।
देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो । नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए । उनले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरे ।
‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसो भन्दा छिटो बढ्छ । बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ । अर्को पल्ट हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो । यि नर्कटहरु पुर्लक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन्’, उनले भने, ‘कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको । अरुलाई बुरुक बुरुक उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई । म त्यतापट्टि जन चाहन्न । विकासको सन्दर्भमा यि सारा उत्तारचढाको बिचमा यो छोटो अवधिमा दमकमा मलाई खुशी लागेको छ ।’
प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताए । उनले लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने बताए ।