सनलाइट इन्भेस्टमेन्ट प्रा.ली.को आठौं साधारण सभा सम्पन्न

image आँखा समाचारदाता १ महिना अगाडी
image

भद्रपुर । झापाको बिर्तामोडमा स्थापित सनलाइट इन्भेस्टमेन्ट प्रा.ली.ले आफ्नो आठौं साधारण सभा शनिबार सम्पन्न गरेको छ।  शनिबार कम्पनीको परिसर चारालीमा सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८०/८१ मा १० करोड ४ लाख बराबरको कारोबार गरेको जानकारी दिएको छ।

प्रालीले पूर्व क्षेत्रमा सिसा र सिसाजन्य वस्तुहरूको थोक कारोबार गर्दै आएको छ।  सनलाइट इन्भेस्टमेन्ट प्रालीका अध्यक्ष पदम भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण सभामा यस आर्थिक वर्षमा ३७ लाख ५० हजारभन्दा बढी नाफा कमाएको जानकारी दिएको छ। झापाका लब्ध प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरू तथा कर्मचारीहरू मिलेर विगत आठ वर्ष अगाडि उक्त कम्पनीको स्थापना गरेका थिए।

कम्पनीले मेची अञ्चलका सम्पूर्ण क्षेत्र तथा मोरङ जिल्लाका पूर्वी भागमा सिसाजन्य वस्तुहरूको कारोबार गर्दै आएको छ। शनिबार सम्पन्न साधारण सभामा प्रालीका अध्यक्ष पदम भट्टराईले वार्षिक प्रतिवेदन सञ्चालक समितिका सचिव युवराज निरौलाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भरत कुमार भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले संस्थाको सेयर पूँजी ७ करोड ४७ लाख १६,२५० रहेको जानकारी दिनुभयो। प्रालीले आगामी दिनमा आफ्नो व्यापारलाई विस्तार गर्ने र सेयर पुँजीलाई १० करोड पुर्याउने योजना रहेको बताउनुभयो। हाल उक्त प्रालीमा ६३ जना शेयर सदस्य रहेका छन्।

साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले कम्पनीहरूले पालन गर्नुपर्ने कानुनी प्रावधानहरू को बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा प्रालीका सल्लाहकार सदस्य मोहन शिवाकोटी, युवराज पाण्डे र सदस्य रिङकुमार आचार्य ,लक्ष्मण खतिवडा लगायतले प्रालीको कारोबार र व्यवस्थापनको विषयमा आआफ्नो सुझाव राख्नुभएको थियो। कार्यक्रम सञ्चालक समितिका उपाध्यक्ष दुर्गा थपलिया ले स्वागत र सहसचिव तुलसीनाथ पौडेलले सञ्चालन गर्नुभएको थियो।