काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ।
उद्योगको लाइन काट्दासमेत बक्यौता भुक्तानी गर्न अटेरी गरेका उद्योगविरुद्ध प्राधिकरणले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो।प्राधिकरणणले ति उद्योगको शेयर रोक्का गर्न पनि कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ।
बक्यौता विद्युत महसुल भुक्तानी गर्ने प्रक्रियामै नआएर शक्तिकेन्द्र धाएका उद्योगीहरूको घरको लाइन नै काट्ने तयारीसमेत प्राधिकरणले गरेको प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको अन्य कम्पनीमा शेयर भएमा रोक्का गर्न र शेयर ट्रान्सफरसमेत नगर्न पत्राचार गरेको उनले जानकारी दिए।
प्राधिकरणले यसअघि महसुल नबुझाउने उद्योगहरूको लाइन काटेको थियो। महसुल बुझाउन आजसम्मको अल्टिमेटम दिएको प्राधिकरणले अब उद्योगको लाइन नकाट्ने तर संचालकको घरकै लाइन काट्ने चेतावनी दिएको हो।
कानुनी प्रक्रियामा गएका शिवम सिमेन्टसहितका ७ वटा उद्योगबाहेक अरु उद्योगविरुद्ध प्राधिकरण कडा एक्सनमा उत्रिएको हो। प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल उठाउन दवावमुलक कार्य आजैदेखि सुरु गरेका हुन्।
उद्योगको लाइन काट्दा रोजगारी गुमेको र उत्पादन नै बन्द हुने अवस्था आएको भन्दै सरकारले लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएपछि नयाँ उपाय अपनाइएको प्रवक्ता चन्दनकुमार घोषले बताए।
यसअघि बक्यौता नतिरेको भन्दै प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगमा लाइन काटेको थियो। त्यसमा ६ उद्योगले बक्यौता तिर्न सुरु गरेपछि लाइन जोडिएको थियो।
२८ उद्योगमा भने लाइन काटिएको अवस्थामा कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले उद्योगमा काटेको लाइन २४ घण्टामा जोड्न र १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको थियो।
त्यसपछि कात्तिक २७ गते प्राधिकरणको सञ्चालक समितिले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै उद्योगमा लाइन जोडिदिएको थियो।