झापा, असोज १४ । अरिदमन गण चारआली ब्यारेकको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम बाहुनडाँगीमा सम्पन्न भएको छ ।औषधी व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा संचालित सो स्वास्थ्य शिविरबाट १८४ महिला र ६५ पुरुष गरी २४९ जना लाभान्वित भएका छन् ।
नेपाली सेना तथा जिल्लास्थित विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीहरुबाट हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूती , नाक, कान, घाटी र साधारण मेडिकलसम्बन्धी रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।
शिविरमा फिजिसियन डा. सीपी यादव , नाक , कान, घाटी रोग विशेषज्ञ डा. रणधीर राजवंशी , हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रितेश थपलिया , स्त्री रोग विशेषज्ञ डा. उपासना कोइरालालगायतले स्वास्थ्य जाँच गरेका थिए ।
त्यस अवसरमा सदरमुकाम तथा शहरी क्षेत्रबाट टाढा रहेका र सुबिधासम्पन्न अस्पताल एवं स्वास्थ्य सेवाको अभावमा रहेका स्थानीयहरुलाई विभिन्न रोगसम्बन्धी निःशुल्क उपचारका बारेमा जानकारी दिइएको थियो ।
त्यस्तै मनसुनजन्य रोग, हाईजिन एण्ड सेनिटाईजेसनलगायत सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको उक्त शिविर लाभदायक र प्रभावकारी रहेको गणपति बस्न्यातले जानकारी दिएका छन् ।