चलचित्र 'क्राइम इन' बिर्तामोड छायाङ्कनको तयारी

image आँखा संम्वाददाता ११ महिना अगाडी
image


झापा, साउन १२ । झापामा हुँदै आएको अपराध र त्यसको अनुसन्धानसँग सम्बन्धित चलचित्र निर्माण हुने भएको छ ।बिर्तामोडमा बिभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको लगानीमा ‘सिआईबी’ नामको चलचित्र निर्माण हुने भएको हो । क्राइम इन बिर्तामोड नाम दिएर चलचित्रको छोटो नाम सिआईबी राखिएको निर्माण पक्षले जनाएको छ । आर्थिक केन्द्रबिन्दुको हब बिर्तामोड, पछिल्लो समयमा लागूऔषध लगायत बिभिन्न खालका अपराधको पनि केन्द्र बन्दै गएको छ ।

यहाँ हुने बिभिन्न अपराधमा प्रहरी प्रशासनले गरिरहेको अनुसन्धान तथा प्राप्त गरेको सफलताको कथामा चलचित्र निर्माण हुन लागेको निर्माता थापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर  जानकारी दिए ।चलचित्रको लेखन तथा निर्देशन रोहन राईले गरेका छन् ।

सहनिर्माता तीर्थ सिग्देल, चन्द्रकान्त ढकाल, सुरेन्द्र भण्डारी, डीपी रिजाल र उमेश चौधरीले गरेका छन् । कार्यकारी निर्माता पुजन प्रकाश इङ्नाम रहेका छन भने मुख्य भूमिकामा रेजिना रणपहेली र बिवेक रिजाल रहेका छन् । उनीहरु दुबैजना सर्ट भिडियो प्लेटफर्म टिकटकबाट आएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रय अनुसन्धान बिभाग इलामका एसपी तुलसी प्रसाईँले समाज परिवर्तनका लागि चलचित्रमार्फत सकारात्मक सन्देश दिन सकिने धारणा राखेका थिए । यो चलचित्रले समाजमा भइरहेका अपराधका घटनामा कमी ल्याउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, औषधि व्यवसायी वासु दुलाल, तीर्थ सिग्देल लगायतले चलचित्रको बारेमा धारणा राखेका थिए । चलचित्र आगामी दशैं अघि नै प्रदर्शनमा आउने थापाले जानकारी दिए ।

ad