झापाको अर्जुनधारामा अङ्ग्रेजी शिक्षकहरूको प्रथम ऐतिहासिक सम्मेलन सुरु

image आँखा समाचारदाता ९ महिना अगाडी
image

झापा / झापाको अर्जुनधारा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गर्ने अङ्ग्रेजी शिक्षकहरूको प्रथम ऐतिहासिक सम्मेलन सोमबार अर्जुनधारा नगरपालिका को सभाहलमा सुरु भएको छ। 

अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोगमा अङ्ग्रेजी शिक्षकहरूको संस्था नेपाल अङ्ग्रेजी शिक्षक संघ नेल्टा झापाको आयोजनामा उक्त दुई दिने सम्मेलन सुरु भएको हो। 

अङ्ग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरू को पेशागत दक्षता अभिवृद्धि गर्ने ,वर्तमान अवस्थामा अङ्ग्रेजी शिक्षणमा आइपरेका चुनौतीहरू र यसको समाधानका उपायहरूको बारेमा खोजी गर्ने ,कक्षा शिक्षणमा आधुनिक प्रविधिको प्रयोग गर्ने सीपको विकास गर्ने र नविनतम शिक्षण पद्धतिको अवलम्बन गर्ने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गरिएको नेल्टा  झापाका अध्यक्ष प्रकाश पराजुलीले जानकारी गराउनुभएको छ।

Open photo

दुई दिने उक्त सम्मेलनको उद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले नेल्टाले आयोजना गरेको यस सम्मेलनबाट अर्जुनधारा नगर क्षेत्रभित्रका अङ्ग्रेजी अध्यापन गराउनु हुने शिक्षकहरूको लागि नयाँ आयाम थप्ने साथै शिक्षण कौशलमा अभिवृद्धि हुने कुरा बताउनुभयो।

Open photo

प्रमुख प्रशासकीय अधिकृत रिमालले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्नका लागि आगामी बजेटमा नयाँ कार्यक्रम सहित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षकको पेशागत विकास दक्षता तथा शिक्षण सीपको विकासमा नेल्टा झापाले गुणस्तरीय कार्यक्रम आयोजना गर्दै आइरहेको बताउँदै आधुनिक शिक्षण शैली तथा शिक्षण कौशल को नयाँ तौर तरिका शिक्षकहरूमा हस्तान्तरण गर्नका लागि यस्ता प्रकृतिका कार्यक्रमहरू आयोजना गरिएको बताउनुभयो।

Open photo

कार्यक्रममा शिक्षक महासङ्घ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, प्याप्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत सुनिता भट्टराई लगायतले कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै शिक्षकहरूको पेशागत अभिवृद्धिका लागि नेल्टा झापाले खेलेको भूमिका प्रति प्रशंसा गर्नुभएको थियो। अर्जुनधारा नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका ७० भन्दा बढी अंग्रेजी शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रम को अध्यक्षता नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीले गर्नुभएको थियो।

 

Open photo

कार्यक्रममा स्वागत तथा कार्यक्रममाथि प्रकाश नेल्टाका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेल्टाका जिल्ला समिति सदस्य टेकनाथ शर्मा वाग्लेले गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ प्रशिक्षक रुद्रबहादुर थापा र जेनी राई ले प्रशिक्षण गर्नुभएको थियो। उक्त सम्मेलन बुधबार समेत सञ्चालन हुने र सम्मेलनले नगरस्तरीय अङ्ग्रेजी विषय शिक्षक सञ्जाल समेत गठन गर्ने कार्यक्रम रहेको छ।   

 

 

ad