विक्रम सम्बत् २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ 'नेपथ्य' पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस उदीयमान सहरमा यही चैत ३० गते, शुक्रबार बेलुकी ब्याण्डका लोक रक-भाकाहरु गुञ्जने छन् ।
धेरैअघि यस भेगको पुरानो वाणिज्य केन्द्र थियो- बिर्ताबजार । कालान्तरमा महेन्द्र राजमार्ग बनेपछि सडकभएतिरै चहलपहल बढ्न थाल्यो। राजमार्गको जुन बिन्दुबाट बिर्ताबजार मोडिन्थ्यो, त्यसलाई ‘बिर्तामोड' भन्न थालियो । समयसँगै अब ‘बजार’ ले स्वयंलाई ‘मोड’ भित्रै बिलिन तुल्याइसकेको छ ।
बढ्दो व्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीब्र वृद्धि भएको बिर्तामोडमा यसअघि 'नेपथ्य'ले ‘ट्राफिक व्यवस्थापन’मा योगदान दिन कन्सर्ट गरेको थियो । यस भेगमा सवारी दुर्घटना वृद्धि भएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि 'नेपथ्य' प्रस्तुत भएको थियो । त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत 'नेपथ्य'ले यसै भूमिमा गीतहरु सुनाएको थियो । अहिलेको यो नवीन नगरपालिका त्यतिबेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो ।
यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको 'नेपथ्य'ले अब भने यस सहरकै प्रमुख खेलकूद आयोजना ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको छ ।
‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्,’ 'नेपथ्य'का गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्याण्ड फेरि जुर्मुराएको विन्दु छेवैको दमक बन्न पुगेको थियो भने केही दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौं ।’
'नेपथ्य' मन पराउने दर्शक घेरामा उभिनका लागि आफू सदैव उत्साहित रहने गरेकामा अबको केही दिनमै बिर्तामोडका संगीतप्रेमीहरु माझ पुग्न व्यग्र भइरहेको पनि गुरुङले थपे ।
स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । 'नेपथ्य' यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो ।
‘#नेपथ्य_को प्रस्तुतिलाई स्वदेशका साना सहर-बजारदेखि लिएर ठूला सहरसम्म एकरुपता प्रदान गर्न हामी सदैव प्रयासरत रहँदै आएका छौं,’ #नेपालय'का व्यवस्थापक अर्पण शर्मा भन्छन्, ‘कलाकार बाहेक प्रविधि र प्राविधिकहरु समेत गरेर ठूलो टिमका साथ उपस्थित हुँदा यो एकरुपतालाई बिर्तामोडका दर्शकहरुले पनि महसूस गर्न सक्ने छन् ।’
बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो । आयोजक सुमन धिमालका अनुसार सदाझैं त्यहाँको कन्सर्ट पनि निर्धारित समय अर्थात् शुक्रबार बेलुकी ठीक साढे छ बजे सुरु हुनेछ । आयोजनास्थलका ढोकाहरु भने त्यसभन्दा दुइ घन्टा अगावै अर्थात् ठीक साढे चार बजे खोलिनेछन् ।
टिकटका लागि बिर्तामोड लगायत पूर्वका सहरहरुमा काउन्टरका व्यवस्था गरिएका छन् भने इन्टरनेटबाटै बुकिङ सुरक्षित गर्नका लागि अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ । त्यसका लागि इच्छुक व्यक्तिले सोझै नेपथ्य डट कम (nepathya.com.np) मा गएर टिकट खरिद गर्न सक्नेछन् ।