‘मेची आमा’ लाई ‘नारी शिक्षा एवं जागरण सम्मान’

image आँखा समाचारदाता बुधबार, भाद्र १३ २०८०
image

काठमाडौँ । ‘मेची आमा’ नामले सुपरिचित समाजसेवी स्व.दिलकुमारी श्रेष्ठलाई ‘नारी शिक्षा एवं जागरण सम्मान’ प्रदान गरिएको छ ।ॐ भानु-वेद स्मृति प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित एक औपचारिक समारोहमा उनलाई मरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो ।

मेची आमाको १२ औँ पुण्य तिथिको अवसर पारेर प्रतिष्ठानले उनलाई सम्मान पत्रसँगै नगद ५१ हजारसहित सम्मानित गरेको थियो ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गरेकी हुन् ।

मेची आमाका कान्छा छोरा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले पूर्वप्रधानन्यायाधीश तथा नेपालको न्याय क्षेत्रकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको हातबाट आमाको नाममा सम्मान ग्रहण गर्दा मेची आमा परिवार गौरवान्वित भएको बताए ।

ॐ भानु-वेद स्मृति प्रतिष्ठानले मेची आमाको सम्मानमा नगद ५१ हजार  प्रदान गरेको रकममा मेची आमा परिवारका तर्फबाट त्यतिकै रकम थप गरी एक लाख दुई हजार महिला आदर्श सेवा केन्द्रलाई प्रदान गरिएको छ ।

ॐ भानु-वेद स्मृति प्रतिष्ठान र मेची आमा परिवारका तर्फबाट प्रदान गरिएको सो रकम ॐ भानु-वेद स्मृति प्रतिष्ठानको सहमतिमा महिला आदर्श सेवा केन्द्रकी अध्यक्ष निरु श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश कार्कीले मेची आमालाई स्मरण गर्दै झापामा महिला नेतृत्व अभाव रहेका बेला उनले महिला हकहित र जागरणको पक्षमा निर्भिक भएर वकालत गर्दै हिँडेको बताइन् ।