बिर्तामोड । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालनका लागि वातावरण बनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ ।
हिजो आइतबार महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा बन्द हड्ताल जस्ता कार्यले नेपाली अर्थतन्त्र तहस नहस हुने निश्चित भएको अवस्थामा बजार बन्द गर्ने कुरा जनविरोधी र निन्दनीय भएको उल्लेख गरिएको छ ।
हिजो आइतबार प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै गरेको नेपाल बन्दले झापा लगायत कोशी प्रदेशको जनजीवन प्रभावित भएको थियो ।