हाम्रो प्रादेशिक अस्पताल प्रशंसा योग्य कहिले बन्ने ?

image रमेश ढकाल  मङ्गलबार, चैत्र १४ २०७९
image

हाम्रो प्रादेशिक अस्पताल भद्रपुरलाई हामीले सफा र स्वच्छ राख्न सकेको भए । जन अपेक्षा अनुरुपको सेवा दिन सकेको भए । अस्पतालका गतिविधिका बारेमा सामाजिक सञ्जालमा राखिने फोटोहरूले अस्पतालको गरिमालाई कम गर्ने होइन अझ बढाउने थियो ।

गाउँ–गाउँमा अस्पताल, अस्पताल प्रशासन टिम, अस्पताल सुधार समितिको प्रशंसा हुने थियो । यो सबै देखेर सुनेर अस्पताल प्रशासन टिमको छाती गर्वले फुलेर फराकिलो हुने थियो । 

तर विडम्बना, अहिले अस्पताल प्रशासनले अस्पताल संग सम्बन्धित कुनै पनि गतिविधिका बारेमा फोटो खिच्न निषेध गरिएको छ भनेर सुचना प्रकाशित गर्नु परेको छ । अस्पताल प्रशासनको यो हर्कतले कतै अस्पताल प्रशासनले आफ्नो असक्षमता, इच्छाशक्ति विहीन लाचारी पन तथा गैरजिम्मेवार चरित्रलाई ढाक छोप गर्न त खोजेको हैन भनेर हामी आम नागरिकलाई एउटा शंकाको सुविधा दिएको छ । 

सर्वसुलभ आधारभूत स्वास्थ्य सुविधा आम नागरिकको आवश्यकता मात्र होइन, अधिकार पनि हो । यो कुरा हाम्रो संविधानमा पनि उल्लेख गरिएको छ ।

तर दुःखको कुरा, हाम्रो प्रादेशिक अस्पतालमा बिरामीहरु बाहिर पुर्जा बनाउदा मात्र हैन, डाक्टरलाई भेट्नका लागि भित्र पसी सकेपछि पनि डाक्टरको क्याबिनको ढोका अगाडि घुइँचो लागेर आपसमा ठेलमठेल गर्दै उभिनु परेको छ । बिरामीहरुलाई अस्पतालको औषधि पसल बाट डाक्टरले लेखिदिएको औषधि किन्नका लागि पनि उत्तिकै सकस छ । 

अस्पतालका अधिकांश शौचालयहरु सग्ला छैनन् । सरसफाइको अवस्था उस्तै हृदय विदारक छ, जसले गर्दा बिरामी कुरुवा पनि बिरामी पर्ने गरेका छन् । सरकारी अस्पतालमा डाक्टरहरुका लागि निर्दिष्ट न्यूनतम दैनिक सेवा समय र अस्पतालमा डाक्टर साहबहरूको वास्तविक उपस्थितिका बिचमा तालमेल नहुँदा पनि बिरामीहरुले धेरै दुःख पाउने गरेका छन् । अस्पतालमा कार्यरत धेरैजसो डाक्टरहरु निजी क्लिनिकमुखी बन्ने गरेको जनगुनासो कायम नै छ । 

यी कुराहरुका अलावा, सामाजिक सञ्जालमा अस्पतालका बिरुद्ध समय समयमा पोखिने गरेका नागरिकका तीता अनुभव लगायतका अन्य कयौँ संवेदनशील विषयहरुलाई यो पङ्क्तिकारले यहाँ जोड्न मनासिव ठानेन ।  

स्वास्थ्य मन्त्रालय मार्फत २०७९–०६–२८ गते प्रादेशिक अस्पताल, भद्रपुरका नाममा जरी गरिएको पत्रमा अस्पताललाई २०० शैयामा स्तरोन्नति गरिएको व्यहोरा उल्लेख छ । यो कुरा भद्रपुर वासिका लागि मात्र हैन, सिङ्गो कोशी प्रदेशका तमाम नागरिकहरुका लागि खुसीको कुरा हो । तर अस्पतालको सेवाप्रवहका दृष्टि बाट हामी नागरिक कहिले खुसी हुने ?

सम्पूर्ण रुपमा चुस्त सेवा दिन नसक्नुमा जनशक्ति, पूर्वाधार, वित्तिय व्यवस्थापन लगायतका विभिन्न कठिनाइहरू छैनन् होला भनेर हामी भन्दैनौँ । तर उपलब्ध स्रोत साधन तथा जनशक्तिको प्रयोग गरेर कम से कम अस्पताललाई सफा र स्वच्छ त पक्कै पनि राख्न सकिन्छ होला ।

यसो गर्नका लागि अतिरिक्त बजेट भन्दा पनि अस्पतालको नेतृत्वमा एउटा बलियो इच्छाशक्ति हुनु पर्ने कुरा धेरै महत्वपूर्ण हुन आउँछ, जुन व्यवहारिक रुपमा देख्न सकिएको छैन ।    

पहिले मेची अञ्चल अस्पतालको नामले प्रख्यात यो अस्पताल नेपाल सरकार अन्तर्गत सञ्चालित मेची अञ्चलकै ठूलो अस्पताल मानिन्छ । मुलुक सङ्घीय संरचनामा गएपछि यसलाई प्रादेशिक अस्पतालमा रुपान्तरित गरियो ।

यो अस्पताललाई सुविधा सम्पन्न बनाउन केन्द्र तथा प्रदेश सरकारले बजेट उपलब्ध गराउदै आएका छन् । तर बजेट उपलब्ध गराउँदैमा राज्यले आफ्नो दायित्व निर्वाह गरेको मान्न सकिन्न । 

बजेट उपलब्ध गराउँदै गर्दा, अस्पताललाई सुविधा सम्पन्न बनाउन थप गर्नु पर्ने वा अद्यावधिक गर्नु पर्ने विषयहरुमा स्पष्टता र तिनीहरूको कार्यान्वयनका लागि समय सीमा तोकेर टार्गेट पनि सेट गरिएको हुनु पर्छ, साथसाथै त्यसै अनुरुपको अनुगमन पनि । अन्यथा ’उल्फाको धन फुपूको श्राद्ध’ भने जस्तो मात्र हुने छ, जुन अहिलेसम्म हुँदै आएको छ । 

खैर, यस्तो नहोस् भनेर तथा स्वास्थ्य संस्थामा जनताको अपनत्व होस्, व्यवस्थापनको काममा अस्पताल प्रशासनलाई सहयोग पुगोस् र कर्मचारी तथा राजनैतिक नेतृत्व बिच पुलको काम गरोस् भनेर अस्पताल सुधार समिति बनेको छ ।

तर अहिले सेवाप्रवाहका दृष्टिले हेर्दा, नचाहँदा नचाहँदै पनि यस्ता सुधार समितिहरु कतै दलका कार्यकर्ता व्यवस्थापन गर्नका लागि मात्र त बनेका होइनन् भनेर घोत्लिनु पर्ने भएको छ ।         

आज जुन अवस्था बाट हाम्रो प्रादेशिक अस्पताल गुज्रिराखेको छ, यो अवस्थालाई थोरै मर्यादित बनाउन वा सुधार गर्न अतिरिक्त बजेटको आवश्यकता त होला नै । तर त्यो भन्दा पनि धेरै एउटा असल नियत संगै केही गरेर देखाउँछु भन्ने दरिलो अठोट बोकेको नेतृत्वको खाँचो देखिन्छ ।

कुनै परियोजना वा संस्थाले सहि नेतृत्व पाएमा, त्यसले उत्कृष्ट परिणाम दिन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा हामी प्रथम भद्रपुर झापा गोल्डकपलाई पनि लिन सक्छौँ ।

निश्चित पनि, गोल्डकप भव्य रुपमा सम्पन्न हुनुमा एउटा व्यक्ति भन्दा पनि सम्बन्धित सिङ्गो टिमको निरन्तर प्रयास त्यसमा जोडिएको थियो । तर उक्त टिमको नेतृत्व कसले गरेको थियो भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन आउँछ ।   

यसै गरेर, आम जनतामाझ भिजेको, अस्पतालको निम्ति केहि गर्ने उर्जा र भिजन बोकेको र सबै सम्बन्धित निकाय संग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने एउटा कुशल नेतृत्व, हाम्रो प्रादेशिक अस्पतालले पनि पाउने हो भने, अस्पतालको रुप रेखा परिवर्तन हुन खासै धेरै समय पक्कै पनि लाग्ने थिएन होला । 

यसो भन्दै गर्दा मैले अहिलेको नेतृत्वलाई असक्षम भनेर भन्न खोजेको भने कतै होइन (जसलाई यो पङ्क्तिकारले चिन्दैन पनि) । तर जोसुकै भए पनि नेतृत्व परिणाममुखी, नतिजा निकाल्न सक्ने हुनुपर्छ । हो, अप्ठ्याराहरु होलान्, अनेकौँ बाधा अवरोधहरू पनि होलान् अन्य विभिन्न कमीजोरीहरू पनि होलान्, यी सबै व्यवधानहरूलाई चिरेर, आम नागरिकले अपेक्षा गरे अनुसारको नतिजा निकाल्न सके मात्र कुशल नेतृत्व कहलाउन सकिन्छ ।  

हाम्रो प्रादेशिक अस्पतालको मुहार फेर्ने सवालमा, अब हाम्रो क्षेत्रका संघिय सांसद, प्रदेश सांसद, नगर प्रमुख लगायतका जनप्रतिनिधिहरु एकै ठाउँ बसेर एउटा ठोस योजना बनाएर तत्काल एक्सनमा उत्रनु पर्छ । स्वास्थ्य नै धन हो । त्यसैले आफ्ना नागरिकलाई उचित र सुव्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने विषय यहाँहरुको मुख्य प्राथमिकता बन्नुपर्छ ।  

तत्काल ठुलो परिवर्तन ल्याउन सम्भव नहोला, तर कम से कम अहिले  उपलब्ध सेवाहरूलाई सहज र सुव्यवस्थित बनाऔँ । कम्तीमा अस्पताललाई सफा र स्वच्छ राखौँ, ताकि अस्पताल भित्र प्रवेश गर्दै गरेको एउटा बिरामीले थोरै सहज महसुस गर्न सकोस्, थोरै भए पनि उसको मनोबल बढोस् । 

सांसद कोष तथा नगर कोष बाट विभिन्न क्षेत्रमा बजेट उपलब्ध गराएका समाचारहरु पढ्न सुन्न पाईन्छ । तर, सबैले मनन गर्नु पर्ने कुरा, देवालय तथा मठ मन्दिरहरु सुन्दर बनेको के अर्थ, जब त्यहाँ जाने मान्छेहरु नै बिरामी परेर बसेपछि । निसन्देह पनि हाम्रा धर्म, संस्कृति, सभ्यताहरुको आफ्नै विशिष्ठ महत्व छ । यिनको रक्षा तथा प्रवर्धन गर्नु हाम्रो दायित्व हो । तर कृपया पहिलो प्राथमिकता स्वास्थ्यलाई दिउँ ।

अन्त्यमा, हाम्रो प्रादेशिक अस्पताल भद्रपुरको मुहार फेर्ने सवालमा, म जस्तो अत्यन्तै आम नागरिकका तर्फ बाट पनि कुनै योगदान गर्नु पर्ने अवस्था आएमा, यो पङ्क्तिकार सम्भव भएसम्मको योगदान गर्न सधैं तयार रहनेछ ।

रमेश ढकाल 
भद्रपुर–झापा (हाल दोहा–कतार)

dhakalrp@gmail.com