भद्रपुर । पोखरा महानगर प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्रकृति स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बतउनुभएको छ।
भद्रपुर—पोखरा सिधा हवाइ उडान सञ्चालन भएको अवसरमा भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै कारक भएको बताउनुभएको हो ।
कार्यक्रममा इलामको रोङ गाउँपालिका प्रमुख मनिकुमार सेङ्वो, झापाका कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, विर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, कचनकवल गाउँपालिका प्रमुख कालेन्द्रप्रसादसिंह राजवंशी लगायतले धारणा राख्दै पर्यटकीय क्षेत्रसम्म पुग्ने आधारभूत संरचना निर्माणमा बजेट अभावले आसातित काम गर्न नसकेको दुखेसो पोखेका थिए ।
अन्र्तक्रिया कार्यक्रममा सहभागी झापाका पत्रकारहरूले झापाका संभावित पर्यटकीय क्षेत्रमा सडक, पिउने पानी, यातायात जस्ता आधारभूत पूर्वाधारले छुन नसकेको तथा चन्द्रगढी विमान स्थलमा सञ्चालनमा रहेका ट्याक्सी व्यवसायीको सिण्डिकेटका कारण समेत पर्यटकले सास्ती व्यहोर्नु परेको गुनासो आउने गरेको भन्दै सरोकारवाला सचेत हुन सुझाव दिएका थिए भने पोखराका सञ्चारकर्मीले झापामा आधारभूत भौतिक पूर्वाधारका संरचना कम्जोर देखिएको भन्दै सुधार गर्न स्थानीय सरकार लाग्ने हो भने पर्यटक आगमन पर्याप्त हुने धारणा राखेका थिए ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा पोखरा महानगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष टिकाराज ढकाल, पर्यटन बोर्डका सदस्य मदन आचार्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राख्दै गण्डकी र कोशी प्रदेशले एक आपसमा पर्यटक आदान प्रदान गर्न सके समग्र देशको अर्थतन्त्रमा महत्वपूर्ण उपलब्धी प्राप्त हुने धारणा राखेका थिए ।
भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक कुमार रेग्मीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन अधिकृत नेत्र पोखरेलले गर्नुभएको थियो ।