एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै, दुई हजार बढी परीक्षा केन्द्र

image आँखा संवाददाता आइतबार​, चैत्र ५ २०७९
image

काठमाडौं । सरकारले यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षाको तयारी तीव्र बनाएको छ । 

चैत १७ गतेदेखि सुरु हुने परीक्षाका लागि वाग्मती र गण्डकीबाहेक सबै प्रदेशमा प्रश्नपत्र पुर्‍याइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका डेपुटी कन्ट्रोलर लोकनाथ आचार्यका अनुसार प्रश्नपत्र पुग्न बाँकी दुईवटा प्रदेशमा तीन दिनभित्र पुर्‍याउनेगरी तयारी भइरहेको छ ।

यसवर्षको एसईईमा छात्र दुई लाख ६० हजार ६६४ र छात्रा दुई लाख ५५ हजार ९१३ जना गरी कूल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १५ जना विद्यार्थी परीक्षामा सहभागी हुने आचार्यले बताए ।

एसईईमा सहभागी हुने पाँच लाख बढी विद्यार्थीका लागि दुई हजार ३८ वटा परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र वाग्मती प्रदेशमा ७३४ वटा राखिएको छ भने सबैभन्दा कम कर्णालीमा १७९ वटा छन् । यसवर्ष कर्णालीबाट सबैभन्दा कम ४१ हजार ३२९ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन् ।