बिर्तामोडका विद्यार्थीहरुलाई पोशाक वितरण

image आँखा संवाददाता बुधबार, चैत्र १ २०७९
image

बिर्तामोड, चैत १ । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्ठ रुपमा वालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोशाक खरिद गर्न नसक्दा पठनपाठनबाटै बन्चित हुनु परेका कारण पोशाक वितरण कार्यक्रम ल्याएको बताइन् ।

उनले यस कार्यक्रमले अभिभावकलाई सहज हुनुका साथै विद्यार्थीहरुमा एकरुपता आउने र पठनपाठनमा समेत अनुकूल वातावरण बन्ने बताइन् । नगरप्रमुख प्रसाईले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने भन्दै पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा समेत सुधार आएर भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको गुणस्तरमा व्यवस्थित र अव्वल हुँदै आएको बताइन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले विद्यालयको शौचालय, सरसफाईलगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरे ।नगरपालिकाले पोशाक वितरण कार्यक्रमलाई वार्षिक योजनाअन्तर्गत राखेर महत्वका साथ अघि बढाएको भन्दै विद्यार्थीको संख्या बढाउनसमेत सम्वन्धित सबैले ध्यान दिनु पर्नेमा जोड दिए ।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोशाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताए ।उनले यस वर्ष पनि ३ हजार ६ सयभन्दा बढी विद्यार्थीलाई पोशाक वितरण गरिने जानकारी दिए ।
बिर्तामोड नगरपालिकाले नगरभित्र संचालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयका विद्यार्थीलाई गत आर्थिक वर्षदेखि पोशाक वितरण गर्दै आएको छ ।

पोशाक वितरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, सचिव उमा भण्डारी, पूर्व स्रोतव्यक्ति डम्बरबहादुर बस्नेत, शाखा अधिकृत दिनेशकुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मीलगायत विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमका बीच वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको थियो । ६५ औं वार्षिकोत्सवको अवसरमा तयार पारिएको सम्मानपत्र वडा नम्बर २ का वडाध्यक्ष पौडेलले नगर प्रमुख प्रसाईलाई प्रदान गरे ।

नगर प्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरवासीको हितमा निर्भिक, निर्विवाद, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गरेकोमा उनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।