प्रदेश १ को नाम कोशी, आज सार्बजनिक विदा

image आँखा संवाददाता बुधबार, फागुन १७ २०७९
image

विराटनगर । १८ फागुन ।  प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको पक्षमा दुई तिहाई बहुमत जुटेपछि कोशी प्रदेश नामाकरण भएको हो ।

सभामुख बाबुराम गौतमले ‘कोशी प्रदेश’को नाम दुई तिहाई बहुमतले पारित भएको जानकारी दिनु भएको हो । गएराती भएको मतदानमा  प्रस्तावको पक्षमा ८२ मत र बिपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेश सभा सदस्य अनुपस्थित रहेका थिए ।

प्रदेश सभामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित अर्को  प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव वहुमतले अस्वीकृत गरेको थियो ।  कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाको १ जना सांसद छन् । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । योसँगै अब सातै प्रदेशको नामाकरण भएको छ । ६ वटा प्रदेशको यसअघि नै नामाकरण भइसकेको छ ।

यसैवीच प्रदेशको नामाकारणमा छलफल सुरु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले हिजो अपरान्ह ३ बजेदेखि राजधानी विराटनगरमा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक सूचना जारी गरी प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएको जनाउँदै निषेधाज्ञा जारी गर्नुभएको हो ।

प्रशासन कार्यालयका अनुसार अपरान्ह दिउँसो ३ बजे देखी अर्को आदेश नभएसम्म विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीका निवास वरपर सो निषेधाज्ञा जारी रहनेछ ।

यसैवीच कोशी प्रदेशमा आज  सार्वजनिक बिदा दिइएको छ । प्रदेशसभाको गएराती सम्पन्न  बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा आज  सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।