आईसीसी विश्व कप क्रिकेट - नेपालले यूएईलाई १ सय ७७ रनले हरायो

image आँखा संवाददाता आइतबार​, फागुन २८ २०७९
image

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ ।

नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए ।

यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथौ स्थानमा उक्लिएको छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगको हारसँगै यूएईको एकदिवसीय मान्यता खतरामा परेको छ ।

यो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । अब नेपालले लिग–२ को अन्तिम शृङ्खलाको बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले भोलि सोमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।