संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुने सत्ता साझेदार नौ दलको निर्णय

image आँखा संवाददाता आइतबार​, फागुन २१ २०७९
image

काठमाडौं । सत्ता साझेदार दलको नयाँ गठबन्धनले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले संविधान रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको हाे।

जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको भन्दै त्यसविरुद्ध एक जुट हुने बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको सार्थक कार्यान्वयनको क्रममा मूलुक तेस्रो राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा छ। संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा हामी स्पष्ट र एकताबद्ध छौं।’

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेपछि बनेको ८ दलीय गठबन्धनको आज बसेको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि मिसिएर ९ दल बनेको हो ।