भित्री बस्त्रमा ब्राउनसुगर लुकाएर ल्याउने युवती पक्राउ

image आँखा संवाददाता शुक्रबार​, फागुन २६ २०७९
image

झापा, फागुन २६ । भित्री बस्त्रमा लुकाइछिपाई लागूऔषध ब्राउनसुगर नेपाल भित्र्याउने एक युवतीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर–गलगलिया नाकाबाट ब्राउनसुगर भित्र्याउने साविक तोपगाछी गाविस ५ घर भई हाल बिर्तामोड नगरपालिका– १ स्थित हनुमानगरमा बस्ने ३४ वर्षीया मञ्जु चापागाँईलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे १० बजेको समयमा प्र–१–०१–०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाँईलाई मेची पुलमा तैनाथ सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनले लगाएको भित्री बस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउनसुगर, नेपाली ५ हजार ७५ रुपैयाँ र ७ सय ९९ भारतीय रुपैयाँसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ ।