जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवाद्वारा चार प्रतिभा पुरस्कृत

image आँखा संवाददाता शनिबार, फागुन ६ २०७९
image

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले विभिन्न चार जना प्रतिभालाई पुरस्कृत गरेको छ ।

संस्थाको बिर्तामोडस्थित आफ्नै सभा हलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताको एकसहित चार वटा पुरस्कार प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जयन्द्रप्रसाद प्रसाईँ उत्कृष्ट बर्षोत्कृष्ठ कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका इलामका स्रष्टा वसन्त बस्नेतलाई पुरस्कृत गरेको छ ।

२०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारा कृतिलाई बर्षोत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गरिएको हो ।

त्यसैगरी विष्णु पदमा विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञ सभा सदस्य पत्रकार तथा चित्रकार पवन राजवंशी र धनमाया वर्षोत्कृष्ठ पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत भएका हुन् ।

पुरस्कृत कृतिकार तथा प्रतिभालाई प्रमुख अतिथि पोखरेल, संस्थाका अध्यक्षसहित उपस्थित अतिथिले सम्मान पत्र, दोसल्ला र नगद राशि प्रदान गरिएको थियो । तीन वटै पुरस्कारको राशि जनही २५/२५ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीराम प्रसाईँले बताए ।

त्यसैगरी कोष स्थापनाको २० औं वर्ष पुगेको अवसरमा स्थापना गरेको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने ११ हजार नगद सम्मान पत्र र दोसल्लासहितको पुरस्कारबाट विराट पोखर निवासी चन्द्रप्रसाद भट्टराईलाई प्रदान गरेको सचिव राजेन्द्र प्रसाईँले जानकारी दिए । उक्त पुरस्कारको राशि नगद ११ हजार रहेको बताइएको छ ।

साहित्य, शिक्षा, सामाजिक  र सञ्चार क्षेत्रका अगुवा तथा अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कोषका संरक्षक खगेन्द्र प्रसाईँ, अग्रज पत्रकार चन्द्र भण्डारी, प्रगतिशील लेखक सङ्घका राजेन्द्र सङ्ग्रौला, पूर्व पुरस्कृत कृष्ण बराल, पत्रकार उमाकान्त खनाल, सम्मानित व्यक्तित्वहरू लगायतले मन्तव्य राखेका थिए ।  

स्वागत तथा औचित्यमाथि कार्यक्रमका अध्यक्ष गोपीकृष्ण प्रसाईँ प्रकाश पारेको कार्यक्रम सञ्चालन गौतम शर्मा सिवाकोटीले गरेका थिए ।