"मेची रंगशालामा पुग्दा जे देखियो,बुझियो त्यहि लेखियो"
करिब अट्ठार बर्ष पहिले(२०६१) "त्रिभुवन मेमोरियल गोल्ड कप" फुटबल खेलले मेची रंगशालासँग 'लिभिङ टुगेदर' मनाएको थियो क्यारे! खै ! यसपछि फुटबलले हो अथवा रंगशालाले हो यि दुई भिन्न भएर एक-आपसमा नमिल्ने अवस्थामा पुगेको अनुभव जिल्ला बासीले गर्दै आईरहेका थिए।
त्यसपछि सिउदोको सिन्दुर पुछिएको पिडा झै रंगशालाले अनेकौं पिडा सहेर खुईलिदै गएको रंगरोगन र स-सानो सिमेन्टको पाप्रा उक्किएर झरेको देख्दा जोकोही लाई रंगशालाको अस्तित्व नै धरापमा परेको भान हुनु स्वभाविक नै थियो।
रंगशालाको यो दयनीय अवस्था हेर्दा खेलप्रेमीको मुटु एकचोटि चिसोहुदै आङ नै जिरिङ्ग हुने अनुभव हामीले गर्दै आएको हो। यस्तो अवस्थाको बिचमा पनि स्थानीय खेलाडीले रंगशालाको अस्तित्व कायम राख्न कहिले बिहान कहिले बेलुकी फुटबलको अभ्यासलाई निरन्तरता दिएर झापा जिल्लाको भद्रपुरमा एउटा मेची रंगशाला छ,है भन्ने सन्देश दिने काम गरिरहेका थिए।
यो फुटबलको अभ्यास मेची रंगशालामा नगरिदिएको भए रंगशालाको अस्तित्व संकटमा पर्ने थियो कि ! स्थानीय खेलाडीको यो कार्य प्रसंशा गर्न लायकको नै देखिन्छ।
फुटबलसंग रंगशालाको पुनर्मिलन हुने सम्भावना ज्यादै न्यून हुदैगएको अवस्थामा मिति २०७९-०८-२६ गतेको सर्व दलिय,सर्व पक्षीय राजनैतिक दल,जनप्रतिनिधि र उद्यमी व्यवसायीहरुको बृहत बैठकले मेची रंगशालामा दिपेश ढकालको अध्यक्षतामा 'भद्रपुर झापा गोल्ड कप' हुने भन्ने निर्णय गरिदिएर फुटबल खेलको कुम्भ मेलाको खाका नै कोरीदियो। भलै यो निर्णय अठार बर्ष पछि आएको किन नहोस् । यसले खेल प्रेमीहरुमा आएको नैरास्यतालाई उत्साहित बनाउन मद्धत गर्यो ।
त्यही उत्साहको कारण हुनसक्छ, 'भद्रपुर झापा गोल्ड कप' लाई सहयोग गर्ने वचन र प्रतिबद्धता चमत्कारीक रुपमा सबै खेल प्रेमीहरुले एकीकृत रुपमा गर्ने निर्णय मनै देखि सुरु भयो। अनि त के थियो र ! कोहि प्रायोजक,कोहि सह-प्रायोजक भै अगाडि आए भने कोहि विशिष्ट आजीवन सदस्य,आजीवन सदस्य र साधारण सदस्य लिएर भएपनि यो 'भद्रपुर झापा गोल्ड कप'लाई नमुनाको रुपमा सफल पार्ने कार्यमा एकीकृत भै कम्मर कसेर उत्साहित रुपमा सहयोग गर्न आए।
भनिन्छ नि ! 'जहाँ ईच्छा त्यहा उपाय' , मेची रंगशालाको हकमा यो ठ्याक्कै लागुहुन गयो। यसको मुल कारण हो, सबै एक जुट हुनु। सुरुवाती दिनदेखि नै सबै दल,ब्यापारी, समाजसेवी,बौद्धिक वर्ग तथा श्रमजीवीहरु एकजुट भएर मनैदिखि सहयोगी भावनाले अगाडि आउनु नै हो। अहिले बेहुली जस्तै सिङ्गारिएर पुल्पुलिएकि मेची रंगशालाको फुटबलसंग पुनर्मिलन हुन गै रहेको देख्दा फुटबल प्रेमीको मन आनन्दीत भएको छ,यो उहाँहरु सबैको एकताको कारणले नै हो ।
भनिन्छ , सहि मान्छेलाई ठिक ठाउँमा राख्न सकियो भने नतिजा उत्कृष्ट आउछ । यो गोल्डकपमा दिपेश ढकालको अध्यक्षतामा राखिएको टिमको नतिजा पनि हो सबै ब्यक्तित्व एक हुनु।
करिब डेढकरोड रुपैयाँको धनराशि जुटाएर फुटबल सन्चालन गर्नु चानचुने कुरा होईन। यसलाई सफल बनाउन कयौं परिश्रम गर्नु पर्ने हुन्छ, त्यो परिश्रम यो टिमले मेहनतका साथ सफलता पुर्वक सम्पन्न गरी सबै रकमको जोहो गर्न सकेकोमा झापा बासीले यिनलाई धन्यवाद दिन बिर्सनु हुदैन ।
एकातिर फुटबल खेल हेर्न लालायित हुने दर्शकलाई यो गोल्डकपले उत्साही बनाउँदै लगेको छ भने अर्कोतिर भद्रपुरमा 'नेता धेरै भएर हामीले काम गर्न सकेनौं ' भन्ने हाम्रो चिया गफलाई समेत मौनबर्त बस्नु पर्ने बनाई दिएको छ।
एकतामा वल हुन्छ भन्ने सन्देश लिएर आएको यो गोल्डकपले एकजुट भनेको के हो? नमुनाको रुपमा ब्याख्या समेत गरिदिएको छ।
म विद्यार्थीहुँदा रंगशालामा फुटबल हेर्न निक्कै कष्टकर थियो। त्यो वेलाका विद्यार्थीसंग पैसो हुने कुरै थिएन। पैसा नभएको कारण फुटबल हेर्न रंगशालाको कुन ठाउँमा प्वाल छ,खोजेर त्यसैबाट छिरेर फुटवल हेरिन्थ्यो। कहिलेकाही समातेर बाहिर निकालेको सम्झँदा अहिले पनि मन खिन्न भैदिन्छ।
तर अहिले त्यस्तो छैन, यो भद्रपुर झापा गोल्डकपले भद्रपुर नगरपालिका भित्र रहेका विद्यार्थीलाई फुटवल खेल हेर्न नि:शुल्क ब्यवस्था गरेको छ। स्कुलको स्वीकृती लिएर स्कुल ड्रेसमा शिक्षक समेत आउनु भएमा प्रत्येक स्कुलका विद्यार्थीलाई आलोपालो फुटबल हेर्ने ब्यवस्था मिलाएको छभने जेष्ठ नागरिक र फरक क्षमता भएकालाई आधिकारिक परिचय पत्र देखाएमा नि:शुल्क प्रवेशको ब्यवस्था गरेको बुझिएको छ। यो एउटा असल र नमुना कार्य हो । यसको लागि आयोजकलाई धन्यवाद दिनै पर्छ।
रंगशालामा बिदेश सहितका दश टिमले भाग लिने भएका छन् ।नेपालका सात वटा र भारत,बंगलादेश र भुटानका ख्यातिप्राप्त फुटबल क्लबको एक-एक वटा टिमले सहभागिता जनाउने भएका छन् ।
यिनिहरु सबैको खेलमा निक्कै कडा प्रतिस्पर्धा हुने छ। यस्तो खेलहेर्दा पनि कत्ति मज्जा आउछ होला ? सम्झदा पनि मन भित्रैदेखि रोमान्चित हुन बाध्य बनाउने छ।
प्रत्येक खेलको लागि एकसय पचास रुपैयाँको टिकट काटेर एकजनाले फुटवल खेलको आनन्द लिन सकिन्छ। त्यसमा पनि एकसय चालिस रुपैयाँ पर्ने एउटा जुस सित्तैमा आयोजकले दिने ब्यवस्था मिलाएको छ।
रंगशाला भित्र पस्ने बित्तिकै टिकट देखाएपछि जुस पाईने ब्यवस्था छ। हिसाब गर्दा दश रुपैयाँको मात्र टिकट पर्छ। त्यो जुस टिकट नकाटि भित्र गएमा पाईदैन,नि!
फुटवल हेर्न जाने दर्शकलाई रंगशाला बाहिर विभिन्न कम्पनीका रंगिन बिज्ञापनहरुले संयुक्त रुपमा स्वागत गरिरहेको हुनेछ। यो रंगिन बिज्ञापनले पनि रंगशालाको चमकलाई सुन्दर ढंगले सजाएर उज्यालो बनाएको अनुभव गर्न सकिन्छ।
भित्र प्रवेश गरेपछि अर्जेन्टिना, ब्राजिल, फ्रान्स,उत्तर कोरिया,मोरक्को साउदी अरब देशका जर्सिको रंगले रंगिएको प्याराफिटको आकर्षणले तपाईंको मनलाई आनन्दीत गराउँदछ। पहिले देखि निरन्तर रुपमा मेची रंगशाला हेर्दै आउनु भएको छ,भने तपाईं एकचोटि यो कुन ठाउँ हो ? भनेर आफुले आफैलाई प्रश्न गर्न बाध्य हुनुहुनेछ। साच्चै रंगशालाको रुप रंगनै परिवर्तन भएको छ।
अहिलेसम्म तपाईं रंगशाला जानुभएको छैनभने आहा!कस्तो मज्जाको बनेछ , हाम्रो रंगशाला भन्दै खुसी व्यक्त गर्नुहुन्छ, तपाईलाई मेरो ग्यारेन्टी नै भो ! रंगशाला साच्चै राम्रो भएको छ, एक पटक त फुटबल म्याच हेर्न त आउनुस अनि थाहा पाउनुहुन्छ।
फुटबल खेलको रोमान्चक दृश्य हेर्दै दर्शकले अरु आनन्द लिउन भन्ने उदेश्यले खेलको मध्यान्तरमा प्रत्येक टिकट मध्य एउटा टिकटले लक्की ड्र मार्फत पुरस्कार समेत पाउने योजना मिलाएको छ। सकेसम्म दर्शकलाई फुटबलका साथै थप मनोरञ्जन दिन भरपुर प्रयास आयोजकले गरेको छ।
जब तपाईं फुटबल खेलको म्याच हेर्न आउनु हुन्छ अनि न सबै कुरा थाहा पाउनु हुन्छ। अहिले यतिनै लेखौं कि अहिलेसम्म भएको फुटबल खेलको अनुभव भन्दा छुट्टै खालको मनोरञ्जनात्मक अनुभुती तपाईंले पाउनु हुनेछ। म फागुन सातगते देखि सोर्हगते सम्म नछुटाई फुटबल हेर्न जाने भएको छु। तपाई पनि यो मौका न छुट्टाउन होला है, फेरि पछुतो होला नि! अस्तु
रमेश कुमार सुबेदी
भद्रपुर ७,झापा