"चाडपर्व कहिले नआओस्"

image रमेशकुमार सुबेदी शनिबार, फागुन १३ २०७९
image

मुलगेटमा उनका आफन्तले माला लगाएर स्वागत गरे। उ रुन्चे हाँसो लिएर आफन्त र साथीहरू लाई ढोग भेट गर्दै अगाडि बढ्दै गयो। उसको श्रीमतीको सुक्क- सुक्क भने रोकिएको थिएन। एकै छिनमा सेतोरंगको कारमा चढेर उ गन्तव्य तिर लाग्यो। ओरिपरिका मान्छेहरू एकोहोरो उ चढेको कार तिर हेरिरहेका थिए।

पाँच बर्ष पहिले दाजुले अंशमा ठगेको कुरा छरछिमेकमा सुनाउदै हिडेको थियो। त्यसैको चार- पाँच महिना पछि दाजुको टाउकोमा चिरपटले हिर्काएर मारेको आरोपमा उसलाई प्रहरीले पक्राउ गरेर लगेको थियो। पछि अनुसन्धानका क्रममा कोदालोको विँडले टाउकोमा हिर्काएर मारेको उसले अदालत मै साबिती बयान दिएपछि जन्म कैदको सजाय भोग्दै रहेको वेला देशकै चाडपर्वको अवसरमा उसले आम माफी पाएर थुना मुक्त भएको थियो।

'अझै एकदुई जनाको गर्दन चार इन्च नछोट्याई भएको छैन,देशमा चाडपर्व कतिछन् कति ? एउटा चाडपर्वको खर्च एक बिगाहा जमीन बराबरको त हो नि, म सँग अझै दुई बिगाहा छ, के को डर छ र मलाई' - उ सबैलाई फुर्तिका साथ सुनाउदै हिड्दैछ।

उसको कुरा सुन्ने छरछिमेकीहरु  अब मर्ने पालो कसको होला भन्ने डरले काम्दै हात जोडेर प्राथना गर्दैछन्  - 'हे भगवान देशमा यस्तो चाडपर्ब कहिल्यै नआओस्' । अस्तु     
                            

रमेशकुमार सुबेदी
 भद्रपुर- ७