नाला निर्माणमा पुरानो इटा प्रयोग

image आँखा संवाददाता आइतबार​, माघ २२ २०७९
image

भद्रपुर, माघ २२ । हुलाकी सडकअन्तर्गत लिङ्क रोडको रूपमा रहेको चारआली—केचना सडकखण्डको चन्द्रगढी विपिचौक उत्तरमा भइरहेको नाला निर्माणमा कमसल सामग्री प्रयोग भएपनि नियामकको ध्यान पुग्न सकेको छैन ।

सडक निर्माण ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको नाला निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहँदा समेत नियामक हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको हो ।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नदेखिएको स्थानीय बताउने गर्दछन् ।
सडक निर्माणमा निर्माण ठेकेदारले गुणस्तरहीन इटा प्रयोग गरिरहेको पाइएको हो । निर्माण कम्पनीले नालीका लागि प्रयोग गरिरहेको इटा अन्यत्रै प्रयोग भएर भत्काइएको पर्खालको कमसल इटा रहेको छ । काममा खटिएका मजदुरहरू पनि पुराना तथा कमसल इटामै काम भइरहेको स्वीकार गर्छन् ।

सडकको नाला निर्माण गुणस्तरबारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवालगायत सरकारी निकाय मौन देखिएका छन् । जसको सहयोग निर्माण व्यवसायीमाथि थपिँदा गुणस्तरमा मनोमानी चलिरहेको छ ।
गुणस्तरमाथि निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको स्थानीय रामबाबु खतिवडाको भनाइ छ ।

यसैगरी हुलाकी सडक परियोजनाअन्तर्गत भएको कालोपत्रे फुट्ने तथा भत्कने क्रम पनि सुरू भएको छ । दुई वर्ष अगाडि गरिएको कालोपत्रे गुणस्तरहीन भएकै कारण भत्कन थालेपनि हुलाकी सडक परियोजनाका प्राविधिकले निर्माण कम्पनीलाई कार्वाहीका लागि कुनै पहल गरेका छैनन् ।