झापाका सहित एक सय ५० बढी डिएसपीको सरूवा

image आँखा संवाददाता शुक्रबार​, माघ २० २०७९
image

भद्रपुर /प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जनाको सरुवा र ३४ जना डीएसपीको काज सरुवा गरेको जनाइएको छ ।

सो क्रममा झापाका सबै प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको पनि सरुवा भएको छ ।सरूवा हुनेमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी बसन्त पाठक,इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलिपकुमार गिरी त्यस्तै, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवर र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोको पनि सरुवा भएको छ ।

प्रहरी स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालय झापाको डिएसपी तथा प्रवक्ता पाठकको ठाउँमा खगेन्द्रप्रसाद रिजाल आउने हुनु भएको छ भने मनोजकुमार लामा दमकको कमाण्ड समाल्न गिरीको सट्टामा आउने हुनु भएकाे छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सरोज कार्की र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी महतोको ठाउँमा ललितपुर जिल्ला प्रहरी कार्यालयबाट डीएसपी दीपक भारती आउने हुनु भएको छ ।

डीएसपी महतोको भने मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको जनाइएको छ ।