भद्रपुर झापा गोल्डकपको तयारी तिव्र, उध्योगी दीपक पोखरेलले दिने भए १० लाख

image आँखा संवाददाता आइतबार​, माघ ८ २०७९
image

भद्रपुर ।  झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको भद्रपुर झापा गोल्डकपका लागि आर्थिक सङ्कलन जुट्ने क्रममा रहेको छ । गोल्डकप सञ्चालन गर्न १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक समितिको छ ।

यसैबीच भद्रपुरका युवा व्यवसायी दीपक पोखरेलले गोल्डकपका लागि १० लाख दिने घोषणा गरेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । पोखरेल सौर्य एयरलाइन्स र ओम साई पाथीभरा हस्पिटल भद्रपुरका सञ्चालक हुन् ।

त्यस्तै प्रथम पुरस्कार राशि १३ लाख रुपैयाँ उद्यमी चण्डीराज ढकाल, टिकाराज ढकाल लगायतले आफ्नो आमाबुबाको नाममा दिने जानकारी प्राप्त भएको अध्यक्ष ढकालले बताए ।

भोलिसम्म प्रथम पुरस्कार राशिको टुङ्गो लाग्ने उनको भनाई छ । दोस्रो पुरस्कार राशिको बारेमा पनि कुराकानी भइरहेको छ । म्यान अफ द सिरिजको पुरस्कार राशि स्व भैरवप्रसाद रिमालको परिवार र वेस्ट गोलकिपरको नगद पुरस्कार स्व. मनोज रिमालका परिवारजनले दिने उनले बताए । 

यता गोल्डकपका महासचिव तथा निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने बताए ।  आयोजक टिम भद्रपुर ११ मा नेपाल तथा क्यामरुनका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने श्रेष्ठको भनाइ छ ।

यस्तै नेपाल आर्मी ,नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमर्स्याङ्दीलगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको प्रतियोगितामा सहभागिता रहने छ ।

गोल्डकपलाई निरन्तरता दिन संस्था विधिवत् दर्ता गरिएको छ भने भद्रपुर झापा गोल्डकपको आजीवन सदस्य बनाउँदै लगिएको उनले बताए ।  मेची रंगशालामा हुने गोल्डकपको लागि खेलमैदानलाई खेल्न योग्य बनाउने काम तीव्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलप्रेमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउने छ ।

गोल्डकपमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइने छ भने भद्रपुर नगरपालिकाभित्रका सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने श्रेष्ठले बताए । भौतिक पूर्वाधार भएर पनि झापाको भद्रपुरस्थित मेची रंगशाला दुई दशकयता खेलविहीन अवस्थामा छ ।

यस्तो शून्यता हटाउन भद्रपुर नगरपालिकाले पहिलो पटक नीतिगत रूपमै बजेटमा समेटेर मेची रङ्गशालालाई चलायमान बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजनाका लागि वातावरण तयार पारेको हो ।

नगरपालिकाको संरक्षणमा भद्रपुर झापा गोल्डकप आयोजक समिति निर्माण गर्दै यही फागुन ७ गतेबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने गरी ए डिभिजन स्तरीय प्रतियोगिता सम्पन्न हुन लागेकोमा स्थानीय नागरिकमा उत्साह थपिएको छ । सुस्त बन्दै गएको भद्रपुरको आर्थिक तथा व्यापारिक गतिविधि बढ्नेमा स्थानीय विश्वस्त हुने वातावरण बन्दै गइरहेको नगर प्रमुख गणेश पोखरेलको भनाइ छ ।