प्रदेश १ मा आठ दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

image आँखा सम्वाददाता सोमबार, पौष १८ २०७९
image

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले आठ दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

आइतबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन्। मुख्यमन्त्रीको दाबी पेश गर्न पुस २४ गते साँझ ५ बजेसम्मको समय दिएका छन्।

संविधानको १६८ को उपधारा १ मा प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। मंसीर ४ मा सम्पन्न प्रदेश सभामा निर्वाचनबाट कुनै पनि दललाई बहुमत प्राप्त भएको छैन।

त्यसैले, प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न समय दिएका हुन्। यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहमुत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।