प्रदेश १ : मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् कार्यविभाजन

image आँखा संवाददाता शुक्रबार​, माघ ६ २०७९
image

मोरङ — प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् कार्यविभाजन गरेका छन् । यसअघिका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको संख्या ७ बाट बढाएर १३ वटा पुर्‍याएका थिए ।

कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गरेर कार्यविभाजन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेर कार्यविभाजन गरेका हुन् ।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकेका छन् । एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय, जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय, माओवादीका दुर्गा चापागाईँलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

यस्तै, राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र माओवादी केन्द्रका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी दिइएको हो । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँसमेत हुन् ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते तीन जना मन्त्री नियुक्त गरी चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यसपछि पुस ३० गते तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

मुख्यमन्त्री कार्कीले अब चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिएर द्रूत गतिमा प्रदेशको कामकाज अघि बढाउने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री नियुक्त गर्न अब बाँकी छ ।

बाँकी रहेका दुई वटा मन्त्रालयमध्ये एउटा माओवादीले दाबी गरिरहेको तर मुख्यमन्त्री कार्कीले सभामुख माओवादी केन्द्रलाई दिइसकिएकाले अब बाँकी रहेको दुबै मन्त्रालय एमालेकै भागमा राख्ने अडानमा छन् ।