प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति

image आँखा सम्वाददाता शुक्रबार​, माघ १३ २०७९
image

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ ।

बिहीबार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको छ ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस सम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आचार्यको निधनपश्चात बुधबार कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरुलाई भेट गरी उनीहरुको समस्यामा सरकार सँगै रहेको र प्रेमप्रसाद आचार्यले सामजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्न प्रयत्न गर्ने बताएका थिए ।