अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

image आँखा सम्वाददाता शनिबार, पौष २ २०७९
image

मान्म, २ पुस, कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गर्नुभएको छ । अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबीच भएको छलफलमा अन्तर प्रदेश जोड्ने सडकको निर्माणमा पहल थाल्ने प्रतिबद्धतासहित समझदारी भएको हो ।

दुवै प्रदेशका जनप्रतिनिधिबीच काठमाडौैँमा सडक निर्माण गर्र्ने विषयमा छलफल भएको र सडक निर्माणका लागि संयुक्त प्रयास थालिने समझदारी भएको कर्णाली प्रदेशसभाका सदस्य विष्टले जानकारी दिनुभयो । “कालीकोट र अछामलाई अन्तर प्रदेश सडक निर्माणका विषयमा पहल थाल्ने आपसी समझदारी बनेको छ”, उहाँले भन्नुभयो, “दुई जिल्ला जोड्ने सडक निर्माणका लागि दुवै प्रदेश तथा सङ्घीय सरकारमा पहल थालिने भएको छ ।”

अछाम पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालु सडक, अछामको पञ्चदेवल नगरपालिका कोसेडी, कालाभिड हुँदै कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालु जोड्ने अन्तर प्रदेश सडक निर्माणका छलफल भएको र यी दुई ठाउँबाट सडक निर्माणका लागि पहल थालिने अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताउनुभयो । “अन्तर प्रदेश सडक मात्र नभएर यी दुई जिल्ला आवातजावत गर्न सहज बनाउन सडक निर्माण आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “अहिले सडक सञ्जाल नहुँदा आवतजावतदेखि व्यापारिक हिसाबले समस्या हुने गरेको छ ।”

कालीकोट र अछाम अन्तर प्रदेश सडक सञ्जालसँग जोडिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने अछाम तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्प शर्माले बताउनुभयो । अन्तर प्रदेश सडक निर्माणका लागि दुवै प्रदेशका जनप्रनिधि एक ठाउँमा भएको र सडक निर्माणका लागि दुवै प्रदेशका सङ्घ, प्रदेश र स्थानीय सरकारले पहल थाल्ने सहमति भएको कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिनुभयो ।