विश्व कप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

image आँखा संवाददाता मङ्गलबार, मङ्सिर २७ २०७९
image

काठमाण्डाै - अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे ।

पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो ।

पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे ।

दोस्रो हाफको ६९औँ मिनेटमा अल्भारेज गोल थप्न सफल भए । त्यसपछि अर्जेन्टिनाले ३-० को अग्रता लियो । यो जितसँगै फाइनलमा पुगेको अर्जेन्टिनाले अब आज राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र मोरक्को खेल्दैछन् ।