झापा, मंसिर २४ । विभिन्न राजनीतिक दलका तर्फबाट प्रतिनिधिसभाका लागि झापाका ६जना समानुपातिक सांसदमा सिफारिस भएका छन् ।नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकबाट निर्वाचित हुने ३४ मध्ये झापाका चार जनालाई छानेको छ ।
झापाका हर्कमाया विश्वकर्मा , अमृतलाल राजवंशी , कालुराम राई(केआर खम्बू) र सुनिता बराल प्रतिनिधिसभामा समानुपातिक सांसद बन्ने भएका हुन् ।
राजवंशी तेस्रोपटक समानुपातिक सांसद बन्न लागेका हुन् । उनी यसअघि नेपाली कांग्रेसका तर्फबाट दुईपटक समानुपातिक सांसद बनेका थिए । उनलाई एमालेले मधेसी पुरुष कोटाबाट सांसद बनाउन लागेको हो । बिर्तामोड ४ निवासी राजवंशी स्थानीय तहको निर्वाचनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै हर्कमाया विश्वकर्मा दलित महिला कोटाबाट सांसद बन्ने भएकी छन् । बिर्तामोड ५ निवासी उनी यसअघि बिर्तामोड ५ को वडा सदस्य रहेकी थिइन् । त्यस्तै आदिवासी जनजाति पुरुष कोटाबाट छानिएका प्राध्यापक केआर खम्बू दृष्टिविहीन हुन् ।भद्रपुर निवासी प्राध्यापक खम्बू झापाको वामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील व्यक्ति हुन् । उनी झापा आन्दोलनताका बेला प्रधानमन्त्री केपी ओलीलगायत नेतासँग निकट रहेर काम गरेका राजनीतिकर्मी पनि हुन् । पछिल्लो चरणमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् । त्यस्तै गौरादह निवासी विद्यार्थी नेता सुनिता बराल पनि समानुपातिक सांसदमा सिफारिस भएकी छन् । उनी नेकपा एमालेनिकट अनेरास्ववियुकी नयाँ अध्यक्ष हुन्।
त्यस्तै नेपाली कांग्रेसले समानुपातिक सांसदमा सरिता प्रसाईलाई सिफारिस गरेको छ । पार्टीकी केन्द्रीय सदस्य प्रसाई दोस्रो पटक सांसद बन्न लागेकी हुन् । यसअघि उनी राष्ट्रिय सभाको सांसद रहेकी थिइन् । बुद्धशान्ति निवासी प्रसाई पूर्व कृषि राज्यमन्त्री पनि हुन्।
त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले झापा अर्जुनधाराकी इन्दिरा राना मगरलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ । सामाजिक अभियन्ता इन्दिराले बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छन् ।