१. म विद्यार्थी हुँदा पढ्–पढ् भन्ने धेरै हुनुहुन्थ्यो । सुरुमा आमाबुबा त्यसपछि त लहरै ठुल्दाइ, माल्दाइ, दिदीहुँदै शिक्षक–छरछिमेकसम्मले पढ्–पढ् भन्न छोडेनन् । किताब पल्टायो कि निद्रा लागिहाल्ने मलाई पाठ्यपुस्तक पढाउन उहाँहरूले गरेको प्रयास प्रायः असफल नै हुन्थ्यो । म विभिन्न तरिकाले उहाँहरूको प्रयासलाई विफल बनाइदिन्थे । उहाँहरू असफल हुँदा मलाई निकै मजा आउथ्यो । अनि उहाँहरू मलाई पढाउन सफलहुदा म भने निराश हुँदै अल्छी लागेर निद्राले हाई–हाई गर्दै किताब हेर्न बाध्य हुन्थेँ ।
२. कसरी हुन्छ, कुन जुक्ति लगाएर हुन्छ, पढ्न नपरे हुन्थ्यो भन्ने त कति लाग्थो कति ! उहाँहरूलाई झुक्याउन पाउँदा संसार जितेजस्तो अनुभूति हुँदाको खुसी अनि मजाको कुरा गरेर के साध्य हुन्थ्यो । ओहो ! यो खुसी र मजाको आनन्द सायद त्यो विद्यार्थी कालमा अरू कुनै थिएन, हुँदैन पनि । जे होस्, अरूलाई झुक्याउनु र पढ्न नपरे हुन्थ्यो भन्ने सोच्नुबाहेक अरू कुनै विशेष उद्देश्य थिएन त्यो बेला । तर त्यो उद्देश्यले जीवन चल्छ कि चल्दैन न मैले बुझेँ, न मलाई बुझाउन–सम्झाउन निरन्तर प्रयास गर्ने शिक्षक र आफन्तको भूमिकाको सम्मान नै राख्नसकेँ । त्यो बेला को आफन्त ? को पराइ ? छुट्याउन नै नसकिने रहेछ । जसले पढ्–पढ् भनेर कराउँथ्यो, त्यो आफन्त हुनै सक्दैन जस्तो लाग्थ्यो । भित्रभित्रै रिस उठेको त कति हुन्थ्यो कति ! तथापि त्यो रिसले एउटा व्यावहारिक शिक्षा दियो– रिस खा आफू, बुद्धि खा अरू । योबाहेक रिसको अरू कामै रहेनछ । त्यही पनि रिस उठिरहेको हुन्छ, जसलाई आफैँले शान्त पार्न सक्नुपर्छ । नत्र त कहिलेकाहीँ यसले आपत पारिदिन्छ र पछुतोबाहेक केही बाँकी रहँदैन ।
३. मलाई पढोस् भनेर शिक्षकहरूले धेरै मिहिनेत गर्नुभएको थियो । फकाएर हुन्छ कि सम्झाएर, कान समातेर, तर्साएर अनि कहिले प्याट्ट गाला पड्काएर । पढ्न जाँगर नचल्ने मेरो बानी सुधार्न नाना थरीका प्रयास गर्नुभयो उहाँहरूले । स्कुलमा कान समातेर उठ–बस गराउने अनि दुई औँला बीचमा सिसाकलम राखेर चेप्ने गर्दा समेत आफूलाई पढ्नु भनेको ‘भालुको कन्पारो’झैँ हुन्थ्यो । त्यहीमाथि आफूभन्दा ठुला मान्छेले पढेर को पो ठुलो मान्छे भएको छ र ? भन्दै कुरा गरेको सुन्दा कहिलेकाहीँ पढ्न लागेको जाँगर पनि सेलाएर जान्थ्यो । यस्ता कुरा सुन्दा ओहो ! पढेर पनि काम छैन कि के हो ? जस्तो लाग्ने रहेछ । यस्ता कुराले विद्यार्थीहरूलाई निकै असर पर्ने रहेछ । हामीले कुनै कुरा गर्दा त्यसको असर बच्चालाई कस्तो पर्छ ? अनिवार्य रूपमा विचार पुर्याउनुपर्छ । जबसम्म हामीले यस्ता कुराको ज्ञान राख्न सक्दैनौँ हाम्रा बालबालिका असल मान्छे बन्न निकै गाह्रो हुन्छ ।
४. मलाई राम्रो पढ्ने र असल विद्यार्थी बनाउने गुरुहरूको प्रयास खेर गइरहेको थियो । म भने किताब एकातिर राखेर मोजाको भकुन्डो खेल्न कुदिहाल्थेँ । कहिले पौडी खेल्ने, कहिले माछा मार्ने गरेर समय बिताइरहेको थिएँ । कोही–कोहीले यसले गरेर खाँदैन भनेको पनि सुन्थेँ । उनीहरूको कुराले मलाई कहिल्यै बिझेन, न चसक्क मनमा पस्यो । आफूखुसी भयो– पुग्यो । अरूसँग मतलबै थिएन । मनमा जे आउँथ्यो, त्यो गर्थेँ । यसैमा मलाई मजा आउँथ्यो, आनन्द लाग्थ्यो । यस्तो मजा र आनन्द छोडेर को पढोस् ? पढ्ने काम गाह्रो लाग्थ्यो । स्वतन्त्रता हरण भए जस्तो अनुभूति हुन्थ्यो । त्यसैले होला कसैले पढ्–पढ् भनेको सुन्यो कि टाउको दुखाइको विषय हुन्थ्यो । दिक्क लाग्थ्यो ।
५. जतिबेला पनि पढ्–पढ् भन्ने पदावली सुन्नुपर्दा झर्को लाग्थ्यो । त्यो भन्नेहरूलाई के गरी हुन्छ, झुक्याउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । उनीहरूलाई मैले कयौँ पटक झुक्याएको–ठगेको छु । चार आनाको बाजी थापेर मोजाको फुटबल खेल्न गएको, समय–समयमा लाग्ने परम्परागत मेला घुम्न गएको सम्झिँदा धेरै पो ढाँटेको रहेछु । शिक्षक–अभिभावकको अनुमति लिएर खेतमा खेल्न अनि रमाइलो मेला हेर्न जान दिए पो जानु ! कि ढाँटेर कि झुक्याएर रहर पूरा गर्नुपर्ने एक प्रकारको बाध्यता नै हुन्थ्यो । त्यसैले आफूलाई मन पर्ने कुरा गर्न कसैले रोकेर रोकिन्न थिएँ । पढ्–पढ् भन्नेलाई महाभारतको सकुनीले पाण्डवलाई जुवा खेलमा झुक्याए जस्तो शिक्षक र आमाबुबालाई झुक्यायो अनि आफूखुसी घुम्ने, खेल्ने रहर पूरा गर्यो ।
६. बहाना बनाएर, ढाँटेर झुक्याएर अर्थात् नाटक गरेर भए पनि कयौँ पटक खेल्न, घुम्न, सिनेमा हेर्न अनि मेलाको रमितामा मिसिन गएका ती दिनको प्रसङ्ग चल्दा मनमा रोमाञ्चकता, मिठो सम्झना त आउँछ, तर आज बुझ्दै छु– आफन्त, नातागोता तथा शिक्षकलाई झुक्याएर जे–जे गरियो, खासमा त्यो आफैँलाई झुक्याइएको, ठगिएको रहेछ । जस्तोसुकै परिस्थितिमा पनि स्कुलको समय भन्दाबाहेक मैले बिहान ए!क–दुई घण्टा र बेलुका एक–दुई घण्टा मन लगाएर पढिदिएको भए, सायद मेरो अझै प्रगति हुनेथियो । अरू धेरै कुराको ज्ञान पाउने थिएँ । कम से कम चिटको भरमा पास हुनुपर्ने थिएन । लोकसेवामा सहज हुने थियो । समाजको विद्वान वर्गमा गनिन्थेँ ! यस्ता कयौँ उपलब्धि प्राप्त गर्थेँ होला, जुन पाउँदाको खुसी, आनन्द अहिलेको भन्दा दोब्बर–तेब्बर हुन्थ्यो होला ! तर ती गुरुहरू, आमाबुबा र हितैषीका कुरालाई टेरपुच्छर नलाउँदा पछि मेरो पेसागत जीवनमा जुन भूकम्प गयो, त्यसको पराकम्पन म आज पनि अनुभूत गर्दै छु । बालकको भविष्य निर्धारण गर्न लागिपर्ने गुरु र आमाबुबाजस्ता महान् व्यक्ति अरू हुँदैनन् । तर यो कुरा मैले समयमा बुझ्न सकिनँ । त्यो बेला मैले आमाबुबा र गुरुलाई अज्ञानतामा जति अल्मल्याएँ, आजसम्म आइपुग्दा म आफ्नो जीवनमा त्योभन्दा बढी पटक अलमलिएको आभास भइरहेको छ । पश्चात्तापले पिरोलिएको छु । त्यो बेला गरिएका कतिपय उरन्ठेउला, अल्लारेपनयुक्त कामको नतिजा जीवनमा प्रतिबिम्बित भएको छ । नहार्नुपर्ने ठाउँमा हारेको छु, नथाक्नुपर्ने ठाउँमा थाकेको छु । ज्ञान अहिले आउँदै छ– बुद्ध र बुद्धु शब्दको अर्थमा जति भिन्नता छ, त्यसमा त्यति नै भेद छ पढ्नु र नपढ्नुमा । यति कुरा समयमा चेत पसेको भए सायद पढ्न मन लाग्थ्यो होला । अहिले बुझेर के गर्नु ? मेरो जीवनमा अब त्यो समय मरिगए आउँदैन ।
७. विद्यार्थीकालमा बिन्दास तरिकाले आफूलाई जे मन लाग्छ त्यही गरौँ–गरौँ लाग्ने रहेछ । त्यो बेला, यो मनको छट्पटी र उत्ताउलोपनको वेगलाई हातमा बाँसको छडी बोकेका कुनै मास्टर–साहबले समेत रोकेर रोकिन्नथ्यो । कसैले हिन्दी सिनेमाको डायलग वा कहानी सुनाउँदै फुर्ति लगायो भने मन सिनेमाघरमा पुगिसकेको हुन्थ्यो । के गरेर हुन्छ, त्यो फिल्म हेरिहाल्नु पर्ने हुन्थ्यो । त्यहीँमाथि अरू दुई–चार डायलग थपेर आफू हिरो हुने अभिलाषाले फिल्म त हेर्नैपर्ने बनाइदिन्थ्यो । फिल्म नहेरुन्जेल मेरो मन शान्त भएर बस्नै मान्दैनथ्यो ।
८. मेरो बालापन अनेकखाले विरोधाभासमा बित्यो । पढ्ने दिनहरूमा शरीर कक्षाकोठामा र मन सिनेमाको डाइलग, नाम र कलाकारमा अड्किएको हुन्थ्यो । सरले के पढाउनुहुन्थ्यो ? न मेरो कानले सुनेको हुन्थ्यो, न चासो नै दिएको हुन्थेँ । शिक्षक र आमाबुबालाई झुक्याएर सिनेमा हेर्न जाने तानाबाना बुन्न मन एकोहोरिएको बेला शिक्षकले हानेको चकले गालामा (कहिलेकाहीँ अनुहारमा पनि) लागेपछि झल्यास्स हुन्थेँ । त्यो बेला साथीहरू हा... हा... हा... गरेर हाँस्थे, लाजले शिर निहुर्याउनुबाहेक केही उपाय हुँदैनथ्यो ।
९. कक्षाकोठाको त्यस्तो घटनाले झन् पिर थपिदिन्थ्यो । त्यो पिर–चिन्ताले सिनेमा नहेरी नछोड्ने बनाइदिएको हुन्थ्यो । सिनेमा हेर्ने धोको पुर्याउन मुसाको प्वालबाट निकालेको धान अनि खेतमा छोडिएको स–साना धानको बाला (सिला)ले सहयोग गरेको थियो । त्यसमा खमारमा राखेको धानको थुप्रोबाट चार–पाँच किलो सुटुक्क झिके (चोरे)पछि खाजाको व्यवस्थासमेत हुन्थ्यो । आखिर फिल्म हेरेर नै छाडिन्थ्यो । फिल्म हेरेर घरतिर आउँदा भुइँमा खुट्टा नै हुँदैनथ्यो । खुसीले बुरुक–बुरुक उफ्रिँदै कतिखेर घर आइपुगिन्यो थाहै हुन्नथ्यो ।
१०. खमारबाट धान निकालेको बुबाले थाहा पाए ढाडले दुःख पाउनु अनिवार्य हुन्थ्यो । ढाडले दुईचार पटक भाटाको स्वाद चाखेको सम्झना छ । त्यो बेला आमाबुबाले छोराछोरी वा शिक्षकले विद्यार्थी कुट्न पाउनु उहाँहरूको मौलिक अधिकारसरह थियो । कुटाइ खाउन्जेल रोयो–करायो, त्यसपछि फेरि उही चाल, उही गति, उही दिनचर्या हुन्थ्यो । कुटाइको असर कुटाइ खाउन्जेलमात्र हुन्थ्यो । बुबाको हातको कुटाइ र शिक्षकहरूको हातको झापड नखाएको दिन म बिरामी भएको हो कि जस्तो हुन्थ्यो ।
काठको गोलिया बोक्ने ट्रकमा झुन्डिएर स्कुल पुग्दा होस् कि बाटोछेउका आँप टिपेर खाँदा होस्, स्कुल र घरको कुटाइ बराबरजसो खाइन्थ्यो । तर थेत्तरोको कुनै औषधि, सीमा थिएन । तथापि त्यो थेत्तरोपनले पछि केही फाइदा पनि गर्यो । मभित्र सहनशीलताको मात्रा बढाएको रहेछ, जुन जागिर खाने क्रममा काम लाग्यो । प्रहरी जागिरका क्रममा ढुङ्गा–इँटा–गाली–धम्की कति सहियो कति !
११. तिनै दिनहरूमा एक दिन, सिनेमा हेरेको भोलिपल्ट हिरो बन्ने धुनमा स्कुल चाँडो जान भन्दै तोरीको तेलमा बासीभात भुटेर खाए । स्कुल ड्रेस लगाएर तयार के भएको थिएँ, दिदीले बिहान साढे सात बजे नै तँ स्कुल जान लागेको ? किन यति बिहानै स्कुल जानु पर्यो ? भनेर सोध्दा पो झस्केँछु । बिहानै स्कुल गएर कसलाई डायलग सुनाउने ? म आफैँ हतारिएको रहेछु । आखिर सधैँको समयमा गएर सुनाउन सकिन्थ्यो तर स्कुल जान अल्छी गर्ने मजस्तो मान्छे पनि त्यो दिन किन स्कुल ढिलो लागेको होला ? भन्ने त छिन-छिनमा लागिरह्यो ।
आखिर जतिसुकै हतार गरे पनि समय त आफ्नै गतिमा रहने हो । कसैको हतारोसँग उसलाई के मतलब ? उसलाई मेरो छट्पटाहटको बारेमा न माया थियो, न दया । अनि मेरो मनसाय बुझेर किन दौडिन्थ्यो ? यसले सिनेमा हेरेर आएको छ, साथीलाई सिनेमाको डायलग सुनाएर हिरो बन्ने यसको उत्कट अभिलाषामा साथ दिनुपर्छ भन्ने समयले बुझिदिन सकेन । घडी हेरेँ, घडीका सुई आफ्नै गतिमा सुस्तरी–सुस्तरी निरन्तर घुमिरहेका थिए ।
१२. समय न कुदेको हुन्छ, न सुतेको हुन्छ । यो दिनरात आफ्नै तालमा चलेको हुन्छ । यसले कसैलाई पर्खिने र कसैलाई छोड्ने गर्दैन । हामीले नै समयलाई पछ्याउनु पर्ने हुन्छ, समयले हामीलाई पछ्याउँदैन । यही कुरा बुझ्न नसकेर हामी निकै पछाडि परेका हुन्छौँ । हामीले समयलाई महत्त्व दिनुपर्छ । समयको महत्त्व र गरिमा बुझेर काम गर्ने हो भने सायद कोही पनि पछाडि पर्ने थिएन । समयलाई आफ्नोअनुकूल बनाउन आफैँ जाँगरिलो हुनुपर्छ । संसारमा तिनै मान्छेको प्रगति भएको भेटिन्छ, तिनैले चाहेको कुरा पाएको देखिन्छ, जसले समयानुकूल आफूलाई परिवर्तन गर्दै लैजान सके ।
१३. सिनेमाको असर ममाथि पर्दै गयो । घरबाट स्कुल जाँदा–आउँदा साथीहरूलाई ‘कितने आदमी थे ?, कितने इनाम रक्खा है रे सरकार हम पर ?, अब तेरा क्या हाल होगा कालिया ?’ आदि–इत्यादि डाइलग भन्दै सुनाउँदै हिँड्थे । अझ ठुलो स्वरले कराउँदै यस्तो डायलग बोल्न पाउँदाको खुसी आज शब्दमा वर्णन गर्न सकिँदैन । डायलग भिलेन (गब्बर सिंह)को भए पनि आफूले बोलेको बेला आफू स्कुलको हिरो भएझैँ लाग्थ्यो । साथीहरू ट्वाल्ल परेर मैले बोलेको डायलग सुन्थे । त्यो देख्दा आहा ! त्यो बेला आएको मजा, जोस, उत्साहलाई भिडियो बनाएर राख्न सकेको भए आज त्यसको छुट्टै स्वाद आउँथ्यो होला । तर ऊबेला अहिलेजस्तो हातहातमा मोबाइल थिएन । साथीहरूले यो सिनेमा कति पटक हेरिस् भनेर सोधे भने कसैलाई आठ कसैलाई नौ चोटि भन्दै उडन्ते जबाफ दिइन्थ्यो ।
१४. साथीहरूको अगाडि जोस–फुर्ती देखाउन पाउँदा ज्यादै रमाइलो लाग्यो । आफूलाई अमिताभ बच्चनजस्तै ठानिन्थ्यो । तर त्यो जोस–जाँगर घर पुगेपछि भने भताभुङ्ग हुन्थ्यो । एउटा साथीले सिनेमाको डायलग के सुनाउँथ्यो, मलाई त्यो सिनेमा नहेरी हुन्नथ्यो । सिनेमा हेर्नलाई एउटा विद्यार्थीले देखाएको त्यो दृढ इच्छाशक्ति किताब पढ्नमा प्रयोग गरेको भए, सायद मेरो जीवनमा आमूल परिवर्तन आउँथ्यो होला । मुसाको प्वाल खन्न गरेको मिहिनेत, धानको सिला खोज्न गरेको परिश्रम घरको खसी–बाख्रालाई टाट्नामा सेउला हालेर खुवाउन प्रयोग गरेको भए मलाई पढाउन भन्दै बुबाले लिएको ऋण तिर्न कति सजिलो हुन्थ्यो होला ! आमाले तरकारी बारीमा चलाएको कुटो–कोदालो मैले चलाएर सघाएको भए आमाको मन कति खुसी हुन्थ्यो होला ! तर यी कुराहरू मैले गर्न सकिनँ । मसँग हिम्मत थियो, जोस–जाँगर थियो तर त्यसलाई नियन्त्रण गर्ने बुद्धि नपुगेका कारण मैले कयौँपटक हन्डर खाएर जीवन गुजार्नुपरेको छ । यसको कारण अरू होइन, म आफैँ हुँ । गुरुले भनेको बाटोमा हिँड्न नसक्नु (नचाहनु), अभिभावकलाई टेर–पुच्छर नलगाउनु अनि आफ्नो बुद्धिको भाँडोमा बिर्को लगाएर अरूको लहैलहैमा बरालिनु मेरो जीवनमा आज पछुतोको मुख्य कारक बनेको छ ।
१५. मसँग जोस, फुर्तिलोपन, चलाखपन हुँदाहुँदै पनि म आफ्नो जीवन र भविष्यबारे बेखबर नै रहेँ । एक त पढाइको स्तर कमजोर थियो, त्यसमाथि अल्लारेपनले कहिल्यै छोडेन । सङ्गत गुनाको फल भनेजस्तो खेल्ने, डुल्ने र मेला हेर्न जाने क्रममा केही साथीहरूको सङ्गतले खैनी खानसमेत सिकियो । खैनीको असर के हुन्छ ? थाहा नपाए पनि यसको लत लाग्दै गयो । स्कुलमा र घरमा खैनी लुकाएर खानुपर्ने हुन्थ्यो ।
कहिलेकाहीँ खैनी सकिँदा आपत पर्ने । राति कहाँ खोज्न जानु ? यता लागेको बानी उता खैनी छैन । मलाई रनाहाले छुन्थ्यो । के गरौँ के हुन्थ्यो । त्यही समयमा छिमेकीको घरमा गएर सालको पातमा सुर्ती राखेर बनाएको चुट्टी खाएर खैनीको तलतल मेटेर आउँथेँ । यो तलतल मेट्ने हुँदाहुँदै चुट्टीबाट मकैको खोसेलोमा सुर्ती बेरेर खान सिकियो । त्यसपछि चुर खाइयो, चुरोटमा बढुवा भइयो । देउराली, गैँडा, याक, शिखर हुँदै सूर्यसम्मको लामो फेहरिस्त अनुभव जोडियो यो प्रकरणमा ।
१६ अम्मली हुने साथीहरूको अनुरोध स्वीकार गर्दागर्दै जीवनमा एउटा दु:खद् पाटोको सुरुवात भइरहेको मैले थाहा पाउन सकिनँ छु । अलिकति खा न, केही हुँदैन, खै ! हामीलाई केही भएको छैन भन्दै गरेका साथीहरूको अनुरोध अनि साथीहरूको मन राख्न मैले जानी–नजानी कुलत अँगाल्न पुगेको घटनाले मलाई अहिलेसम्म सताइरहेको छ । चुरोट खाने आदत एउटा नशामा परिणत भइसकेको छ । चुरोटसँगै मान्छेको उपदेश र गाली खानु मेरो नियति बनेको छ । यो नशाले शरीरमा कुन असाध्ये रोग लगाउने र गलाउने हो भन्ने कल्पना गर्दा पनि आङ जिरिङ्ङ हुन्छ । एक प्रकारको डरले मेरो सातो लिइरहेको छ ।
१७. चुरोटको कुलतले ज्यानमा धेरैचोटि आक्रमण गरेको छ । खोकी लाग्ने, निद्रा नलाग्ने त कयौँपटक भएको छ । एक दिन छातीको बीचैबीच निकै दुख्यो । हत्तपत्त मुटु विशेषज्ञ डाक्टर समीर पौडेललाई फोन गरेँ । उनले के–के हुन्छ भन्दै सोधे । मैले सबै लक्षण बताएपछि, उनले ‘दाजु तपाई जहाँ भए पनि तुरुन्त काठमाडौँ आउनुस्, तपाईलाई निकै खतरा छ,’ भने । म भोलिपल्टै काठमाडौँ हानिएँ । डाक्टर समीर पौडेललाई सम्पर्क गरेर उपचार गराएँ । मेरो मुटुको दुइटा भल्भमा ब्लकेज भएको रहेछ । तत्काल उपचार नभएको भए मेरो हातबाट आज यो लेख लेखिँदैन थियो ।
१८. उपचारमा झन्डै सात लाख रूपैयाँ खर्च सिद्धियो । त्यो रूपैयाँ मलाई कुलतमा हौसाउने साथीहरूले तिर्नुपरेन, न त तिनले दयाभाव देखाएर तिर्नेछन् । अहिले म दैनिक औषधि खाइरहेको छु । जब मैले चुरोट खाँदा फाइदा हुँदैन भन्ने बुझ्न थाले त्योबेला निकै ढिलो भइसकेको थियो । सोच्छु– मैले मेरो जीवनलाई उँधो लैजाने कामबाहेक अरु केहि गरिनँ छु । अर्काको लहैलहैमा लागेर आफ्नो स्वास्थ्य खराब बनाउने एउटा अभागी म पनि हुँ ।
१९. चुरोटको आदतले मलाई एउटा अतिरिक्त ज्ञान दियो– खराब बानी बसाल्नलाई उक्साउने मान्छे कहिल्यै असल साथी हुन सक्दैन । त्यस्तो साथी बेलैमा त्याग्न सक्नुपर्छ । गलत संगतको नतिजा गलत नै हुन्छ । हामीले गलत सङ्गततिर प्रेरित गर्ने साथिहरूलाई त्याग्नु नै बेस हुन्छ । किनभने त्यो हामीले साथी होइन, खराब आदत त्यागेको हो ।
२०. मेरा कयौँ यस्ता खराब आदत र आचरणलाई सुधार्न प्रयास गर्ने गुरु अनि अभिभावकलाई मैले बेवास्ता गर्दाको परिणाम, अनुभव दु:खद् रहन गयो । एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई असल बानी बसाल्न र उसको भविष्य सुधार गर्न गरिरहेको प्रयत्नको बेलैमा कदर गर्न सक्नुपर्छ । म एउटा विद्यार्थी न थिएँ, काँचो माटो, जुन पाक्दै थियो । त्यो विद्यार्थी, एउटा ढाँचामा तयार हुनलाई कुटाइ र कडा शब्द प्रहारको कठोर भूमिमा जिउने कला सिक्दै थियो । त्यो गाली अनि बेला–बेलाको लाठी प्रहारले मलाई कुनै असर नपारे पनि एउटा अनुशासनको मोडमा बिस्तारै–बिस्तारै ढालेको थियो । यो कुरा मैले आफूले आफूलाई चिन्ने प्रयास गर्दा थाहा पाएँ । मेरो भविष्य बनाउनलाई मायाले सम्झाउँदा नलागेर तर्साउन कहिले कुट्ने, कहिले गाली गर्ने गरिएको रहेछ ।
अहिले लाग्छ– मेरो जीवनलाई असल गन्तव्यमा पुर्याउन जीवनको प्रत्येक मोडमा शिक्षक र आमाबुबाको कत्रो ठुलो हात रहेछ ! तिनीहरूप्रति सदा नमन र आदर छ ।
भद्रपुर ७ झापा
स्रोत: हल्दिबारी माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव
स्मारिका २०७९